
०५ जेठ २०७७, ललितपुर
महालक्ष्मी नगरपालिका ललितपुरको नेतृत्व, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को संयोजकत्व र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा नगरपालिका क्षेत्रमा कोभिड-१९ को जोखिमबाट रेड जोनमा परेका जिल्लाहरुबाट आएका, विदेशबाट आई सेल्फ – क्वारेन्टाइनमा बसिरहेका र नगरक्षेत्रभित्रको फोहोर व्यवस्थापनमा खटिएका श्रमिक व्यक्तिहरुको ४ आइतबार(हिजो) इमाडोल हेल्थ पोष्टमा कोरोना भाइरस कोभिड – १९को परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा RDT र PCR गरी जम्मा २५८ जाना व्यक्तिहरुको कोरोना परीक्षण भएको छ जसमध्ये १९१ जना व्यक्तिहरुको RDT पद्धतिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो भने ६७ जना व्यक्तिहरुको PCR परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन गरिएको थियो । RDT परीक्षण गरिएको सबै नमुनाहरुको रिपोर्ट नेगेटिभआएको छ । कार्यक्रममा संकलित ६७ थ्रोट स्वाब नमुनाहरु पि.सि.आर. परीक्षण पद्धतिद्वारा परीक्षण गर्नका लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, टेकु पुर्याईएको छ ।

कार्यक्रमले कोभिड-१९ को जोखिमबाट रेड जोनमा परेका जिल्लाहरुबाट नगरभित्र लुकिछिपी प्रवेश गरी समुदायमा संक्रमण फैलाउन सक्ने सम्भावनाको न्युनिकरण गर्ने विश्वास नगर प्रमुख रामेश्वर श्रेष्ठले व्यक्त गरेका छन् ।

कार्यक्रममा वडा नं १, २, ३, ४ र ५ अन्तर्गतका व्यक्तिहरुको कोरोना परीक्षण गरिएको छ र वडा नं ६, ७, ८, ९, र १० अन्तर्गतका कोभिड – १९को जोखिमबाट रेड जोनमा परेका जिल्लाहरुबाट आएका, विदेशबाट आई सेल्फ-क्वारेन्टाइनमा बसिरहेका र फोहोर व्यवस्थापनमा खटिएका श्रमिक व्यक्तिहरुको सोमबार (आज) लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना भाइरस कोभिड-१९को परीक्षण (RDT र PCR) गरिनेछ।






