सत्ता र शक्तिमा हुँदा किन दासढुङ्गा जहिल्यै ओझेलमा पार्नुहुन्छ कमरेड ?



०३ जेठ २०७७, काठमाडौं

नेपाली राजनीतिमा सर्वाधिक चर्चा र रहस्यमय घटनाको रुपमा परिचित दासढुङ्गा हत्याकाण्ड घटेको आज २७ वर्ष पुगेको छ। मदन-आश्रितको हत्यापछि मनमोहन अधिकारीको नेतृत्वमा २०५१ सालमा बनेको अल्पमतको लोकप्रिय सरकारदेखि अहिलेसम्म कम्युनिष्ट नेताहरुको नेतृत्वमा बनेका आधा दर्जन भन्दा बढी सरकारहरुको प्राथमिकतामा किन पर्दैन दासढुङ्गा ?

अझ दुखद् पक्ष त के छ भने तत्कालीन एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितकै पार्टीबाट पटक-पटक सत्ताको रसस्वादन गरेका सहयोद्धाहरु नै सत्तामा पुग्नासाथ घटनाबारे गुपचुप हुन्छन। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मदन-आश्रित हत्याको छानवीन गर्न तत्कालिन नेकपा एमालेद्वारा गठन गरिएको छानविन आयोगको अध्यक्ष समेत हुनुहुन्थ्यो। त्यसबेला ओलीको ठोकुवा थियो, “म प्रधानमन्त्री भएँ भने मदन भण्डारी र जीवराज आश्रितका हत्यारा अवश्य पत्ता लगाउँनेछु।” कमरेड ओली सहित आफूलाई जनताको बहुदलीय जनवादको अनुयायी बताउने कमरेडहरु पटक-पटक प्रधानमन्त्री बन्नुभयो। दोश्रो पटक शक्तिशाली प्रधानमन्त्री हुँदा समेत अध्यक्ष ओलीले दासढुङ्गा घटना छानविनका लागि कुनै पहल नगर्नु आश्चर्यजनक छैन र ?

तत्कालिन नेकपा एमाले उपाध्यक्ष एवम् मदन भण्डारीकी जीवन संगिनी विद्यादेवी भण्डारी पनि दोश्रोपटक मुलुकको शक्तिशाली पदमा विराजमान हुनुहुन्छ तर राष्ट्रपतिको जिम्मेवारी प्राप्तिपछि राष्ट्रपतिज्यूको मुखराविन्दबाट समेत जननेता भण्डारीको जीवन सक्ने त्यो रहस्यमय घटनाको घटना छानविन गर्ने विषयमा एक शब्द पनि बोलेको शुनिदैन। अन्य जबजका अनुयायीहरुसमेत सार्वजनिक कार्यक्रममा आक्रोश पोख्न बाहेक केहि गर्ने तरखरमै देखिनुहुन्न त ?

मदन भण्डारीको ब्रम्हलिनले सबैभन्दा बढी असर जीवनसंगीनिको हिसाबले विद्यादेवी भण्डारीलाई नै परेको हुनुपर्छ। तर राष्ट्रको शक्तिशाली जिम्मेवारीमा हुँदा आफ्नै पति समेतको हत्यारालाई पत्ता लगाउनु तपाईको मुख्य दायित्व हुनुपर्ने होईन र राष्ट्रपति ज्यू ? देशको मुहार फेर्ने खाका र राष्ट्रियताको विषयमा शुस्पष्ट नेता भण्डारीको स्मृति दिवसमा अविरमाला चढाउँदै नेताद्वय प्रतिको सम्मान झल्कन्छ कि घटनाको छानविन गर्नाले महामहिम ज्यू ? राष्ट्रले गुमाएका नक्षेत्रको खोजि गर्ने जिम्मा म बबुरो भन्दा नेतृत्वमा रहनुभएका तपाई नेतागणहरु बढी चिन्तित हुनुपर्ने होईन र ?

२०३९ सालको भूमिगत जीवनमै विवाह गर्नुभएकी तपाई राष्ट्रपतिज्यू र मदनले बाल्यकालमै छोड्नुभएका तपाई छोरीहरु पनि अहिले शु-शिक्षित र आत्मनिर्भर हुनुहुन्छ। संगत नै गर्न नपाएका हामीहरु समेत मदन-आश्रिताबारे पढेर स्तब्ध हुन्छौं भने तपाईहरुको चोटले किन परिणाम ल्याउन सकेन महोदय ? त्यो बेला सत्तारुढ कांग्रेसी सरकारका विरुद्धमा एमालेले गरेको आन्दोलनको मुख्य माग दासढुङ्गा हत्याकाण्डको निष्पक्ष छानविन नै थियो तर छोटो समयको लोकप्रिय शासनको नेतृत्व गर्ने मनमोहन अधिकारीदेखि अहिले निर्णायक भूमिकामा रहनुभएका कमरेडहरुले समेत जेलजीवनमा रहेका एकमात्र साक्षी अमर लामासँग किन एकपटक पनि बयान लिने प्रयास गर्नुभएन ?

दासढुङ्गा सुनियोजित हत्या या दुर्घटना के हो भन्ने विषयको छानविन गर्ने जिम्मा नेतृत्वको हिसाबले तपाईहरुकै हो। प्रधानमन्त्री र राष्ट्रपति हुँदा समेत सहयोद्धाको घटनाप्रति तपाईहरुको ध्यान नजानुमा के त्यस्तो बाध्यता पर्छ कमरेड ? आफू सत्तामा हुँदा कुनै पहल नगर्ने हो भने सत्तापछी तपाईहरुका विचार केवल जनतालाई भ्रममा पार्ने जाल मात्र हुनेछन। सत्ता र शक्तिमा हुँदा दासढुङ्गा घटना छानविन गरी निष्कर्ष दिनसक्नु भएन भने ! अहिले शक्तिमा हुँदा र तपाईहरुको जीवनकालमा त होईन, तपाईहरुको ब्रम्हलिनपछि सच्चा कार्यकर्ताले प्रश्न गर्नेछन,” दासढुङ्गा काण्डमा कुनै न कुनै रुपमा आफ्नो संलग्नता नभएको भए शक्तिशाली जिम्मेवारीमा हुँदा आफन्त र सहयात्रीले किन छानविन गरेनन् त ?”

त्यसैले आम नागरिकको हैसियतले मेरो अनुरोध छ,” मदन -आश्रितले हुर्काएको पार्टी र संगठनको ब्याजमा सत्ता साट्ने तपाई कमरेडहरुले समय छँदै निष्कर्ष निकाल्नु भएन भने ईतिहासले तपाईहरुप्रति औला सोझ्याउँदा हामीसँग दिने जवाफ समेत हुनेछैन।” आम कार्यकर्तासँग दिने जवाफ हुनेछैन। सच्चा अनुयायी वा देशभक्त नागरिकसँग दिने जवाफ हुनेछैन।

यो पनि पढ्नुहोस् : 

आस्थाको दियो मदनको सम्झनामा (भिडियो सहित)

‘मदन–आश्रित’को २७ औं स्मृति दिवसमा २७ दुर्लभ तस्वीरहरु

‘राष्ट्रिय हित र प्रजातान्त्रिक अधिकारको संरक्षणको निम्ति कुनैपनि धम्की वा प्रलोभनबाट तर्सिन हुँदैन’ : मदन भण्डारी

जननेता मदन भण्डारीको लोकतान्त्रिक छवि

दासढुङ्गा दुर्घटना काण्डका एकमात्र साक्षी अमर लामाको हत्या यसरी भएको थियो !

मार्क्सवादको सिर्जनात्मक प्रयोग नेपाली सन्दर्भसहित

जननेता मदन भण्डारीसँगको स्मृतिका पानाहरुबाट

प्रतिक्रिया दिनुहोस्