दासढुङ्गा दुर्घटना काण्डका एकमात्र साक्षी अमर लामाको हत्या यसरी भएको थियो !



०३ जेष्ठ २०७७, काठमाडौं

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको रहस्यमय निधन भएको दासढुङ्गा दुर्घटनाकाण्डका एक मात्र साक्षी थिए अमर लामा ।

उनलाई पनि अन्ततः मारियो । दासढुङ्गा घटनाको दश वर्षपछि विसं २०६० श्रावण १२ गते उनको पनि राजधानीमा हत्या भयो ।

यसरी भएको थियो, लामाको हत्या
‘अमर दाइ ! नमस्ते’ भन्दै तीन जना अपरिचित युवकहरू ताजा खबर साप्ताहिकको कार्यालयभित्र पसे । कार्यालयमा सो पत्रिकाका सम्पादक फणिन्द्र दाहाल, अतिथि सम्पादक ईश्वरी वाग्ले र संवाददाता ज्ञानप्रसाद पौडेल भोलिपल्ट ( सोमबार) प्रकाशन हुने अखबारको तयारीमा व्यस्त थिए ।

पाँच मिनेटअघि मात्र ‘जनआवाज’ नामक आफ्नो स्तम्भका लागि लेख लिएर आइपुगेका प्रबन्ध सम्पादक अमर लामालाई अप्रत्यासित रूपमा आइपुगेका ती अपरिचितहरूले ‘दार्ई’ भनेर सम्बोधन गर्दै ‘नमस्ते’ भनी अँगालो हालेर कार्यालयबाहिर निकाले ।

‘तपाईँहरुलाई त मैले चिनिनँ नी ।’ अमर लामाले प्रश्न गर्दा ‘हामी हेडक्वाटर्रबाट आएका हौं । एउटा सानो काम छ । तपाईँ दश मिनेटमा फर्किहाल्नुहुन्छ ।’ उनीहरुले भनेका थिए । यसपछि तल सडकमा पर्खिरहेको ट्याक्सीमा हालेर हुँइँकिए । विजय स्मारक हाइस्कूल, डिल्लीबजारको ठीक अगाडीबाट बा १ ज २५६० नम्बरको ट्याक्सी तुरून्तै कालिकास्थानतर्फ बेगिएपछि कार्यालयमा रहेका साथीहरू झसङ्ग झस्किए ।

कपाल मसिनो गरी काटेको, जिन्सको हाफ ज्याकेट र ढाकाटोपी लगाएको ३० वर्षभन्दा माथिको जस्तो देखिने, छोटो जुङ्गा पालेको, कालो वर्णको व्यक्तिले सेतो टी–सर्ट र आकाशे रङ्गको पाइन्ट लगाएको थियो । उवडखावड दाँत भएको त्यो व्यक्ति पहिलो भन्दा होचो कदको थियो र अर्को तेस्रो व्यक्तिले चाहिँ कालो सर्ट र कालै पाइन्ट लगाएको थियो । झट्ट हेर्दा ती व्यक्तिहरू आर्यनजस्ता लाग्थे । पहिलो व्यक्तिभन्दा ती दुईको उमेर अलि कमजस्तो लाग्थ्यो ।

लामाको अपहरण नै भएको हो भन्ने पक्का विश्वास लागेपछि सम्पादक फणीन्द्र दाहालले प्रहरी कन्ट्रोलकक्ष १०० मा तत्कालै टेलिफोन डायल गरे । ट्याक्सीको नम्बर टिप्न भ्याएका उनले कन्ट्रोल कक्षमा ताजा खबर साप्ताहिक कार्यालय डिल्लीबजार, कालिकास्थान हुँदै लाँदै गरेको जानकारी दिए ।

तापनि सो कक्षका प्रहरीहरू अपहरण भएको ठाउँ कालिकास्थान वडा प्रहरी कार्यालय, सिंहदरबारअन्र्तगत पर्ने भएकाले उतै फोन गर्न सुझाव दिएपछि सिंहदरबार वडा प्रहरीमा फोन गर्दा २० मिनेटसम्ममा पनि फोन नउठेपछि पत्रिकाका संवाददाता ज्ञानप्रसाद पौडेलले पुनः वडा प्रहरी कार्यालय, दरबारमार्गमा प्रयोग भएको ट्याक्सीको नम्बरसमेत टिपाएका थिए ।

लामाको अपहरणको खबर लगत्तै प्रकाशक मनबहादुर न्यौपानेलाई मोबाइलमा फोन गरी दिएपछि नेपाल जुडो संघका सहसचिवसमेत रहेका न्यौपानेले शहीद दशरथ रङ्गशालाबाट दिएको दुई बजेर दुई मिनेट जाँदा लामाको मोबाइल नम्बरमा सम्पर्क गरे । मोबाइल सम्पर्क भयो तर उताबाट लामाले ‘हेल्लो, हेल्लो’ भन्दाभन्दै ‘फोन राख्’ भन्ने ठूलो आवाज न्यौपानेको कानमा बज्रियो । त्यसपछि तत्कालै मोबाइल बन्द गरियो ।

लामालाई डिल्लीबजार बालिकास्थानबाट अपहरण गरिएको ठीक दुई घण्टापछि पौने चार बजे कीर्तिपुरको नयाँ बजारमा गोली हानी एकजना व्यक्तिको हत्या गरिएको सूचना प्रहरीले पायो । घटनास्थल कीर्तिपुर, नयाँबजारको व्यस्त सडकबीचमा उपत्यका अपराध अनुसन्धान शाखा र इलाका प्रहरी कार्यालय कीर्तिपुरबाट प्रहरीहरू पुगिहाले । घटनास्थलमा पुगेपछि प्रहरीहरूलाई थाहा भयो–लास दुई घण्टाअघि अपहरित अमर लामाको हो भन्ने ।

घटनास्थलका प्रत्यक्षदर्शीहरूका अनुसार एकजना अधबैंसे मान्छे भाग्दै एउटा स्टोप पसलभित्र पस्यो । गुहार माग्दै भाग्दै गरेको उसलाई त्यहाँबाट निकालेर व्यस्त सडकमा लगी पेस्तोलद्वारा गोली हानी हत्या गरेर ती अज्ञात हत्याराहरू तत्कालै फरार भएका थिए । सडकमा ल्याई ती आक्रमणकारीहरूले ‘अमर लामा यही हो, यसलाई छाड्नु हुँदैन’ भनी गोली हानेका थिए ।

विसं २०५० साल ३ जेष्ठमा नेकपा एमालेका तत्कालीन महासचिव तथा संगठन विभाग प्रमुख क्रमशः मदन भण्डारी र जीवराज आश्रित चढेको जीप सहस्यमय ढंगबाट दुर्घनाग्रस्त भएपश्चात् नेताद्वयको मृत्यु भएको थियो भने सो जिपका ड्राइभर अमर लामा जीवित रहेका थिए । मदन–आश्रितको हत्याको आरोप लागेका लामा चार वर्ष जेलजीवन बिताएर निस्केका थिए ।

आफू दासढुङ्गा जिप दुर्घटनामा निर्दोष रहेको जिकिर गर्दै आएका लामालाई एमाले पार्टीले ‘षड्यन्त्रकारी गद्दार’ घोषणा गरी पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो । जेलबाट छुुटेको केही महिनापछि नै विसं २०५५ सालमा नेपाली कांगे्रसको चुनाव प्रचार–प्रसारमा संलग्न भएका थिए ।

लामा मारिएको भोलिपल्ट अर्थात् विसं २०६० साल १३ श्रावणको बिहानै अमर लामाको अपहरणमा प्रयोग गरिएको ट्याक्सी बा १ ज २५६० का चालक दाताराम अधिकारी ट्याक्सीसहित आफैँ उपत्यका अपराध अनुसन्धान महाशाखामा उपस्थित भएका थिए । आश्चर्य, यस्ता अपराधमा प्रयोग गरिएको सवारी साधन प्रायः घटनापश्चात् गायब हुने गर्छन् तर लामाको अपहरणमा प्रयोग भएको ट्याक्सी प्रहरीमा आत्मसमर्पण गर्न आफैँ आइपुग्यो ।

(ब्रदर्श बुक्सले प्रकाशन गरेको पुस्तक नेपालका चर्चित हत्याकाण्डबाट)

प्रतिक्रिया दिनुहोस्