नेकपा अध्यक्षद्वयको संयुक्त वक्तव्य : ‘पार्टी एकता नेपालको राजनीतिमा सामान्य घटना होइन’



०३ वैशाख २०७७, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताएका छन् ।

‘मदन–आश्रित’को २७औँ स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा अध्यक्षद्वयले संयुक्त वक्तव्य जारी गर्दै पार्टी एकतालाई दुई पार्टी जोड्ने मात्र नभइ टुटेको कम्युनिष्ट आन्दोलनलाई निरन्तरता दिने सशक्त पार्टी बनाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीको एकीकरण नेपाली राजनीतिको सामान्य परिघटना मात्र नभएको भन्दै अध्यक्षद्वयले सशक्त कम्युनिष्ट पार्टी निर्माण र मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई श्रमजीवी जनताको पक्षमा अनुकूल बनाउने पहलकदमी भएको बताएका छन् ।

उनीहरुले नेकपाको पार्टी एकतालाई नागरिकले अनुमोदनसमेत गरेको चर्चा गर्दै सामाजिक–आर्थिक रूपान्तरण र समृद्ध नेपाल निर्माणको ऐतिहासिक जनादेश नेकपालाई प्राप्त भएको उल्लेख गरेका छन् ।

अध्यक्षद्वयले दलाल नोकरशाही पूँजीवादी शोषण, उत्पीडन र बाह्य हस्तक्षेपलाई परास्त गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका सामन्तवादका अवशेषहरूलाई समाप्त गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘मदन–आश्रित’ स्मृति दिवसकै दिन पारेर २ वर्षअघि जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा गरिएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्