सरकारसँग साझा पार्टीको माग : ‘सीमा विवादका विषयमा कूटनीतिक र राजनीतिक तहमा वार्ता गर’



०२ जेष्ठ २०७७, काठमाडौं

साझा पार्टीले भारतसँगको सीमामा तारबार लगाउन सरकारसँग माग गरेको छ ।

शुक्रबार (आज) विज्ञप्ति जारी गर्दै साझाले नेपाल-भारत सीमाका निश्चित नाकाहरू मात्रै अभिलेखीकरणको व्यवस्थासहित खुला गर्न माग गरेको छ ।

यसबाहेकका अन्य सबै भागमा तारबार लगाउन माग साझाको माग छ । नेपाल-भारतको सीमालाई छुट्याउने धेरै दस्तावेजहरुसमेत बेवास्ता गर्दै भारतले नेपाली भूमि मिचेको साझाले निष्कर्ष निकालेको छ ।

“भारतले ऐतिहासिक दस्तावेजहरूले प्रमाणित गरेको नेपाल-भारत सीमालाई बेवास्ता गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा खुल्लमखुल्ला नेपाली भू-भाग अतिक्रमण गरेको छ । भारतले भर्खरै लिपुलेक भएर चीनको मानसरोवर जान खोलेको सडक त्यसैको चरम उत्कर्ष हो भन्ने हाम्रो ठहर छ ।” साझाका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साझाले सीमा विवादका विषयमा सरकारलाई भारतसँग कूटनीतिक र राजनीतिक तहमा वार्ता गर्नसमेत आग्रह गरेको छ । यस्तै दुईपक्षीय वार्ता गर्न ढिला तथा हुने अवस्था आए एकतर्फी रुपमा तारबार लगाउन पहल गर्नुपर्ने साझाले भनेको छ ।

यस्तै सीमा विवादमा प्रमुख दलहरूको संस्थागत रूपमा ध्यान नपुगेको र उक्त विषयमा राष्ट्रिय सहमति कायम गर्न पनि सरकारले पहल गर्नुपर्ने साझाले बुझाई छ ।

|फाइल/सांकेतिक तस्वीर|

प्रतिक्रिया दिनुहोस्