
०२ जेठ २०७७, सिन्धुपाल्चोक
मेलम्ची नगरपालिका वडा नम्बर २ ज्योतिष गाउँका युवाहरुले वडामा भएका सम्पूर्ण गतिविधि सबैको पहुँचसम्म पुग्नुपर्छ भन्दै वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
स्थानीयले सुशासनको मूल मर्मलाई ख्याल गर्दै विकसित समाज निर्माणको अवधारणामा ईट्टा थप्ने उद्देश्यका साथ मेलम्ची नगरपालिका वडा नम्बर २ बाट करिब २५० जनाको हस्ताक्षर गरी उपभोक्ता समिति र बजेटको विवरण वडाको आधिकारिक फेसबुक र वेवसाईटमा अनिवार्य राख्नुपर्ने माग अनुरुपको पत्र वडा सचिव प्रेमलाल मल्ल र वडा सदस्य गोमा दुलाललाई हस्तान्तरण गरि वडा कार्यलयमा दर्ता गराएका छन् ।
वडा सचिव प्रेमलाल मल्लले पत्र बुझेपछि वडाको आधिकारिक बैठक बसी सबैलाई छलफलमा बोलाउने निर्णय गरिएको स्थानीय अनिश खतिवडाले जानकारी गराए ।
अनिश खतिवडा र दीपक दुलालको नेतृत्वमा वडावासी युवाहरुको टोलीले सोे भन्दा पहिला पनि वडामा हुने कार्यक्रम, विकास निर्माण, योजना उपभोक्ता समिति र बजेट सहितको विवरण वेवसाइट र फेसबुक पेजमा अनिवार्य रुपमा राख्नु पर्ने माग राख्दै आएका थिए ।
वडा कार्यालयले कुनै चासो नदिएका कारण ज्ञापन पत्र बुझाउन बाध्य भएको स्थानीय शंकर खतिवडाले बताए ।

वडामा हुने हरेक गतिविधिहरु प्राविधिक माध्यमबाट बाहिर आएर सञ्चार हुनुपर्ने माग अभियन्ता मध्येका एक अनिश खतिवडाले परिवर्तन खवरलाई बताए । वडामा हुँदै आएका कामहरु वडा कार्यलयमा फोटोकपी गरेर भित्तामा टाँसिदै आएको छ ।
वडाले टासेको सूचना सबैले थाहा नपाउने र टासिएको केही समयमा नै च्यातेर फालिने भएकाले अब इन्टरनेटको माध्यमबाट सूचना प्रवाह गर्नुपर्ने स्थानीय मधुकर चौलागाईले बताए । उनले भने, ‘अहिले सबैको हात हातमा स्मार्ट फोन छ । हाम्रो वडामा हुने हरेक सूचना गाउँमा बस्ने मान्छेले मात्र थाहा पाएर हैन विश्वका हरेक कुनामा बस्ने मान्छेले थाहा पाउनुपर्छ ।’
अब बन्द कोठामा बसेर बनाइने उपभोक्ता समितिको परिपाटीको अन्त्य गर्नको लागि पनि डिजिटल सुचना प्रवाह कोशेढुङ्गा सावित हुने कुरा अभियानमा अग्रपंक्तिमा रही नेतृत्वदायी भूमिका खेलेका दीपक दुलालले बताए ।
बिहिबार (हिजो) बाटै उनकै अगुवाइमा थर्मल गनको प्रयोग गरि वडावासीको ज्वरो जाँच पनि शुरु गरिएको छ ।
‘स्वास्थ्य नै धन हो’ भन्ने मूल मर्मलाई आत्मसाथ गरि कोरोनाको माहमारी बढ्दै गरेको अवस्थामा वडावासीको स्वास्थ्यको ख्याल राख्दै हिजोबाट मेलम्ची नगरपालिका वडा नम्बर २ का प्रत्येक घर दैलोमा पुगी सामाजिक दुरी कायमका साथ थर्मल गनको प्रयोग गरि ज्वरो नाप्ने कार्यको थालनी गरिएको समाजिक अभियन्ता मधुकर चौलागाईंले बताए ।





