नीति तथा कार्यक्रममा सहभागी हुँदैनन्न यी १३ सांसदहरु



०२ जेष्ठ २०७७, काठमाडौं

शुक्रबार (आज) संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवि भण्डारीले अपरान्ह चार बजे दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

तर कार्यक्रममा १३ जना सांसदहरुले भने प्रवेश नपाउने भएको छ । संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाकाअनुसार प्रतिनिधि सभाका ११ जना र राष्ट्रिय सभाका २ जना गरी १३ जना सांसद सहभागी हुन नपाउने भएका हुन् ।

“कोभिड १९ को पीसीआर विधिबाट परीक्षण नगर्नु भएका सांसदहरु संसदको बैठकमा सहभागी हुन पाउनुहुन्न ।” उनले भने, ‘प्रतिनिधि सभाका ७ जना, राष्ट्रिय सभाका दुई जना सदस्यको पीसीआर जाँच नभएकोले उहाँहरू सहभागी हुन पाउनुहुन्न ।’

प्रतिनिधि सभाका नरमाया ढकाल, किशोरसिंह राठौर, जयकुमार राई, कुमारी थेबे, रुबी नाज, सूर्यबहादुर केसी र नागेन्द्र कुमार नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा संसद बैठकमा हुने छैनन् ।

यस्तै राष्ट्रिय सभाका राधेश्याम पासवान र नरपति सुनुवार पनि नीति तथा कार्यक्रममा सहभागी हुन पाउने छैनन् । उनीहरु काठमाडौं बाहिर रहेकोले कोरोना परिक्षण हुन पाएको थिएन ।

प्रतिनिधि सभाका चार जना सांसदहरु भने विभिन्न मुद्धाका कारण निलम्बनमा परेका छन् । विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशमलाल चौधरी, हरिनारायण प्रसाद रौनियार गरी चार सांसद निलम्बनमा छन् ।

सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संघीय संसद भवनमा ३२० जना सांसदहरु मात्रै उपस्थित हुनेछन् । नीति तथा कार्यक्रममा सहभागी हुने भएपछि स्वास्थ्यमन्त्रालयमार्फत् राष्ट्रपति, उपराष्ट्रपनि, प्रधानमन्त्री तथा नियमित रूपमा उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि स्वाब संकलन गरिसकेको छ ।

संसद सचिवालयले बैठकमा प्रवेश गर्नु अघि अनिवार्य कोरोना परिक्षणको रिपोर्ट पेश गर्नुपर्ने छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्