
०१ जेठ २०७७, काठमाडौं
इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ ।
जापानको वर्ल्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले जानकारी दिएका छन् । यो सँगै अब जापानमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफर मार्फत सहज र सुरक्षित रुपले रकम पठाउन सक्नेछन् ।
आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने प्रबन्ध निर्देशक कोइरालाले बताए । जापानबाट कारोबार सुरु भएसँगै प्रबन्ध निर्देशक कोइरालाले भने,‘हामी जापान बाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दैछौँ, अबदेखि कुनै पनि ठाँउमा रहनुभएका नेपालीहरुले छिटो, छरितो र सुलभ माध्यबाट नेपालमा पैसा पठाउन सक्नुहुनेछ । अब हामी नयाँ सोच, प्रविधि र समय अनुसार अगाडि बढ्नुपर्ने बाध्यात्मक अवस्था आएको छ । डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ ।’
इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको कम्पनीको भनाई छ । इसेवा मनि ट्रान्सफरले करिब दुई महिना अघि नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो ।





