डेरावाल वा बाहिरका व्यक्ति आएमा बूढानीलकण्ठमा खबर गर्न आग्रह



३१ बैशाख २०७७, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं १० का वडाध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईले आफ्ना घरमा बाहिरबाट कोही आएमा तथा भाडामा बस्नेहरु आउजाऊ गरेमा बूढानीलकण्ठ नगरपालिका तथा वडामा खबर गर्न घरधनीहरुलाई आग्रह गरेका छन् ।

कपन नीलोपुलस्थित प्रगतिनगर टोल सुधार समितिका अध्यक्ष रामजी खड्काको अध्यक्षतामा आज बिहान आयोजित स्थानीय बासिन्दाको भेलाको सुझावअनुसार घर बाहिर रहेकाहरुलाई बाहिर नै बस्न आग्रह गर्ने निर्णय पनि गरिएको छ । यदि बाहिरबाट आई लुकिछिपी बसेमा घरधनी र भाडावाललाई २१ दिन क्वारेन्टाइनमा राख्ने निर्णय समितिले गरेको छ ।

टोलमा नयाँ व्यक्ति वा भाडामा बस्ने व्यक्ति कसैका घरमा बस्न आएमा सोबारे समितिका अध्यक्ष खड्का, सञ्जीव लामा, दीपक खड्का, हिमाल गुरुङ र विद्यादेवी सुवेदीलाई जानकारी दिन स्थानीयवासीलाई आग्रह गरिएको छ । त्यस्तै नीलोपुलस्थित खाली चौरमा खेलकूद गतिविधि नगर्ने तथा साइकल, मोटरसाइकल सिक्ने सिकाउने काम स्थगन गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्