
३१ बैशाख २०७७, काठमाडौं
नेपाल परिवार दलले नेपालको सुदूरपश्चिममा भारतीय पक्षबाट गरिएको सीमा अतिक्रमण विरुद्ध प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विगत लामो समयदेखि भारतीय पक्षबाट नेपालको सीमा अतिक्रमण हुँदै आएपनि नेपाल पक्षबाट त्यसको दीर्घकालीन समाधान निकाल्न नसक्दा विभिन्न बहानामा अतिक्रमणको क्रम बढ्दै गएको छ भन्दै कूटनीतिक वार्ता तथा उच्च स्तरीय राजनैतिक संवादद्वारा सम्पूर्ण सीमा विवादबारे प्रभावकारी पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
अतिक्रमण भएको नेपाली भूमी तुरुन्त फिर्ता गर्न संसद भित्र र बाहिर रहेका सबै राजनैतिक दलको संयुक्त बिज्ञप्ति जारि गर्न पनि परिवार दलले आह्वान गरेको छ ।
परिवार दलले सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्य नै विद्यमान प्रकरण समाधानको मूल आधार रहेको जिकिर गर्दै महाकाली नदीपूर्वको भू–भाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमीमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनुपर्ने स्पष्ट धारणा रहेको बताएको छ । दलका अध्यक्ष एकनाथ ढकालले सीमा अतिक्रमणमा वर्तमान सरकारलाई मात्र दोष दिन नमिल्ने भन्दै बिगतका सरकारहरु झन् बढी जिम्मेवार रहेको बताए । कालापानी र लिपुलेक प्रकरण नेपालको स्वाभिमान माथि नाङ्गो हस्तक्षेप हो भन्दै पूर्वमन्त्री समेत रहेका ढकालले अब मुलुकको अस्मिता जोगाउन सरकार, प्रतिपक्ष, सबै देशभक्त राजनीतिक दल तथा नागरिकहरू एकजुट भई मातृभूमीको रक्षा गर्न आह्वान गरेका छन् ।
बैठकले सुगौली सन्धीबाट कायम भएको नेपाली भूमी कब्जा गरी भारतले बाटो निर्माण गर्नु, स्वतन्त्र सार्वभौम मुलुकमाथिको अतिक्रमण र हेपाहा प्रवृत्ति हो भन्दै यसको घोर आपत्ती प्रकट गरेको छ । साथै बैठकले नेपालको परराष्ट्र मन्त्रालयले सार्बजनिक गरेको धारणाको स्वागत गर्दै भारतले नेपाली भूमी लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग निर्माण गरेको सम्बन्धमा दुवै छिमेकि मित्रराष्ट्रहरू भारत र चीनसँग तुरुन्त कुटनीतिक वार्ता गरी समाधान खोज्न सरकारलाई आग्रह गरेको दलका प्रवत्ता सन्तोष कुमार पौडेलले बताए ।





