लिपुलेकमा भारतीय सडक : प्रधानमन्त्री भन्छन् पूर्व जानकारी थिएन, परराष्ट्रमन्त्री भन्छन् पूर्व जानकारी थियो



३० वैशाख २०७७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको बताए । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने संसदमै भारतले बनाएको सडकबारे सरकारलाई अग्रीम जानकारी भएको बताए ।

मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सीमा समस्या समाधानका लागि नेपालले पटक-पटक कुरा उठाउँदा पनि भारतले वास्ता नगरेको र अहिले सडक नै उद्घाटन गर्नुले उसको नियत ठीक नभएको प्रष्ट भएको पनि बताए ।

स्रोतका अनुसार काली नदी पूर्वको भूभाग नेपालको हो भन्नेमा सरकारको प्रष्ट अडान रहेको पनि उनले बताएका थिए । प्रधानमन्त्री ओलीले सकडमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने पनि बताए ।

बाटोमा उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान नहुने भन्दै यसका लागि भारतसँग वार्ता गरिने प्रधानमन्त्रीले बताए । यस्तो संवेदनशील विषयमा बोल्दा तथ्य, तथ्यांक र प्रमाण भएका कुरा मात्रै बोल्न मन्त्रीहरुलाई उनले निर्देशन पनि दिए ।

यसअघि भूमिसुधार मन्त्री पद्मा अर्यालले लिम्पियाधुरा नेपालको नक्शामा कहिल्यै नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्