तिलोत्तमा राहत कोषमा नेकपाद्वारा रु २ लाख



३० बैशाख २०७७, काठमाडौं

कोरोना संक्रमण रोकथाम गर्न तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले रु दुई लाख २० हजार २५० सहयोग प्रदान गरेको छ । राहत रकमको चेक नगर कमिटी अध्यक्ष मोहन चापागाईं र सचिव लक्ष्मण खनालले आज नगर प्रमुख वासुदेव घिमिरेलाई प्रदान गर्नुभयो ।

त्यस अवसरमा अध्यक्ष चापागाईंले नगरका पार्टी सदस्यका तर्फबाट कोरोना रोकथाम गर्न नगरपालिकाको कोषमा सहयोग गरिएको जानकारी दिनुभयो । नेकपा तिलोत्तमा नगरमा क्रियाशील चार हजार ४०५ पार्टी सदस्यमध्ये प्रत्येकबाट रु ५० प्रदान गरिएको नेकपा नगर कार्यालय सदस्य मीनप्रसाद पोखरेलले बताउनुभयो । नगर प्रमुख घिमिरेले यसअघि नै राहत कोषमा रु ९५ लाख सहयोग प्राप्त भएको र तीन हजार आठ सय जनालाई राहत वितरण गरिसकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्