
३० वैशाख २०७७, काठमाडौं
बाँकेमा स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की आएको छ ।
बाँकेको खजुरा गाउँपालिका ७ मा रहेको सोनपुर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई स्थानीय एक व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् ।
बांँकेको सोनपुरका रफी भाटले स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की दिएका स्वास्थ्यचौकीका प्रमुख सुदीप पौडेलले बताए । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएको पौडेलले बताए ।
गत २६ वैशाखमा प्रसूति गराउन आएकी रफी भाटकी श्रीमतीलाई स्वास्थ्यचौकीका कर्मचारीले व्यथा नलागेको भन्दै घर फर्काईदिएका थिए । घरमै सुत्केरी भए पनि स्वास्थ्यचौकीमै जन्मिएको प्रमाणीकरण हुनुपर्ने भाटको माग अस्वीकार गर्दा उनीसहितको समूहले स्वास्थ्यकर्मीको ज्यान मार्ने धम्की दिएको हो ।
उनीहरुले कार्यालयमा आएर कर्मचारीमाथि दुर्व्यवहार गर्नुको साथै ज्यान मार्ने धम्की दिएका स्वास्थ्यकर्मीको भनाई छ । स्वास्थ्यचौकीमै आएर कर्मचारीलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्ने र ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले सुरक्षा प्रत्याभूतिको माग गर्दै प्रहरीमा उजूरी दिएका छन् ।
उजुरी आएपछि घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलिया जानकारी दिए ।
|फाइल तस्वीर|





