नयाँ पुस्ताको ‘प्रेम-बेथिति’ : प्रेमिका गर्भवती, प्रेमी फरार



२९ वैशाख २०७७, काठमाडौं

प्रेमिका गर्भवती भएपछि एक युवा फरार भएका छन् ।

पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ मा प्रेमिका गर्भवती भएपछि सम्पर्कविहीन भएको भन्दै एक युवकविरुद्ध उजुरी परेको हो । स्थानीय १९ बर्षका विशालबाबु चौधरीले आफूलाई गर्भवती बनाएर सम्पर्कविहिन भएको भन्दै युवतीले गाउँपालिकाको न्यायिक समिति र जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा उजुरी दिएकी हुन् ।

माझी मुसहर दलितसमुदायकी युवती र चौधरीबीच झण्डै दुईवर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । त्यसपछि उनीहरु घर छोडेर भागेका थिए । भागेर सँगै बस्दै आएका उनीहरु केही दिनअघि गाउँ फर्केका थिए ।

तर युवकको घर परिवारका सदस्यले सम्बन्ध अस्वीकार गरेपछि युवक सम्पर्कविहीन भएका हुन् । परिवारले नै युवकलाई भगाएको आरोप केटी पक्षले लगाएका छन् । टेर्वासुगौली गाउँपालिकाको उपप्रमुख ममता महतोले चौधरी नआउँदा युवती अन्यायमा परेको बताइन् ।

‘युवती गर्भवती छिन् । दलित समुदायको भएकोले परिवारले अस्वीकार गरेको हुन सक्छ । न्यायिक समितिमा छलफल गराएर सहमति गराउन पटक पटक कोशिस गरेका हौं ।’ उनले भनिन् ‘विशालले युवतीसँग विवाह गर्नुपर्छ भन्ने सामाजिक अगुवाहरुको धारणा छ । तर युवक सम्पर्कमा नआउँदा समस्या समाधान हुन सकेको छैन ।’

युवतीका बुवाले छोरीले न्याय पाउनुपर्ने बताएका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्