नयाँ आवको बजेटको आँखा : ‘स्वास्थ्य, पूर्वाधार, रोजगारी र कृषि क्रांति’



२८ वैशाख २०७७, काठमाडौं

सरकारले प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा आगामी वर्षको बजेट तथा नीति कार्यक्रमका सिद्धान्त र प्राथमिकता पेश गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले दुवै सभामा बजेट तथा नीति कार्यक्रमका सिद्धान्त र प्राथमिकता पेश गर्दै बजेट तथा कार्यक्रमको पहिलो प्राथमिकता स्वास्थ्य पूर्वाधार, रोजगारी सृजना र कृषि क्रांतिमा आधारित हुने जानकारी दिए ।

कोभिड १९ (कोरोना भाइरस) महामारीका कारण उत्पन्न आर्थिक तथा सामाजिक समस्यालाई समाधान गरी दिगो पूर्वाधार निर्माण गर्न बजेट तथा कार्यक्रम केन्द्रित हुने बताउँदै मन्त्री खतिवडाले तत्काल कोरोना महामारीसँग जुध्न तथा भविष्यमा आउनसक्ने यस्तै अन्य प्रकोपसँग जुध्न आवश्यक स्वास्थ्य पूर्वाधार निर्माण सरकारको पहिलो प्राथमिकता हुने बताए ।

प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा स्वास्थ्य पूर्वाधार, जनशक्ति उत्पादन तथा इक्वीपमेन्ट व्यवस्थापन गर्ने गरी बजेट तथा कार्यक्रम तर्जुमा गरिने जानकारी दिँदै मन्त्री खतिवडाले हरेक नेपाली नागरिकमा स्वास्थ्य उपचारको पहुँच स्थापित गर्न बीमा कार्यक्रम विस्तार गरिने पनि बताए ।

विदेशी सहायतालाई पनि स्वास्थ्य तथा दिगो विकासका आयोजनामा परिचालन गर्ने रणनीति लिने पनि उनले जानकारी दिए । यस्तै उक्त रणनीति नियमित भन्दा फरक हुने उनको भनाई थियो ।

सरकारको दोस्रो प्राथिमकता रोजगारी हुने भन्दै उनले कोरोना महामारीपछिको अवस्थामा बेरोजगारी भयावह हुने प्रक्षेपण भएकाले बजेट तथा कार्यक्रम पनि त्यसलाई न्यूनीकरणमा केन्द्रित गरिने बताए ।

स्वदेशमै रोजगारीको अभाव बढेका बेला विदेशमा गएका नेपाली फर्किने सम्भावना भएकाले बेरोजगारलाई लक्षित गर्दै विशेष कार्यक्रम ल्याउने मन्त्री खतिवडाले बताए ।

कोरोना महामारीका कारण गुमेको रोजगारी पुनरुत्थान, नयाँ रोजगारी सिर्जना तथा स्वरोजगारका लागि उद्यमशिलताको अधिकतम उपयोग हुने खालको बजेट तथा कार्यक्रम तर्जुमा गरिने उनले जानकारी दिएका छन् ।

यस्तै वैदेशिक सहायता परिचालनमा निजी क्षेत्रलाई समेत परिचालन गरी उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्ने सरकारको रणनीति रहेको उनले औंल्याए । सीप विकासका लागि सरकारले विशेष कार्यक्रम बनाउनेसमेत उनले बताए ।

रोजगारी सिर्जनाका लागि कृषि क्रांति गर्ने भन्दै उनले कृषि क्रांतिको विस्तृत मोडालिटी बजेट तथा कार्यक्रम पछि ल्याइने उनले बताए । सामूहिक खेती, भूमि बैंक र सबैमा भूमिको पहुँचका लागि सरकारले नीति बनाउने उनको भनाइ थियो ।

|बैठकमा मन्त्री खतिवडा। श्रोतः|

प्रतिक्रिया दिनुहोस्