प्रेमीले आफन्तलाई अश्लील भिडिओ पठाए : युवतीले गरिन् आत्महत्या



२८ वैशाख २०७७, काठमाडौं

सामाजिक सञ्जाल फेसबूकमा अश्लील भिडिओ राखेर आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका सातका २३ वर्षीय सन्तराम चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । चौधरीले कैलालीको गौरीगंगा नगरपालिकाकी एक युवतीको म्यासेन्जरबाट उनका आफन्त तथा साथीहरुलाई अश्लील भिडिओ र तस्वीर पठाइ आत्महत्या गर्न बाध्य बनाएको प्रहरीको भनाइ छ ।

प्रेम सम्बन्ध खटपटिएपछि चौधरीले ती युवतीको फेसबूकमार्फत् नै अश्लील भिडिओ र तस्वीरहरु पठाएको पाइएको प्रहरीले जनाएको छ ।

अश्लील भिडिओ र तस्वीर आफन्तलाई पठाइएपछि मानसिक तनावमा रहेकी युवतीले कैलाली धनगढी उपमहानगरपालिका ६ को जालीस्थित सुकुटी नालामा झुण्डी आत्महत्या गरेकी थिइन् ।

चौधरीलाई उक्त अश्लील भिडिओ , तस्वीर, र फेसबूक आईडी लगईन अवस्थामा फेलापारी सो मोबाईल बरामद गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्