बूढानीलकण्ठमा २९ हजार तीन सय ७५ जनालाई खाना वितरण



२५ बैशाख २०७७, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० भित्र बसोबास गर्ने २९ हजार तीन सय ७५ जनालाई खाना वितरण गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण नेपाल सरकारले लागु गरेको लकडाउन पालना गरेका विपन्न परिवारलाई खाना वितरण गरिएको हो । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष तथा नगर प्रवत्ता नवराज भट्टराईका अनुसार विभिन्न समस्याका कारण विहान बेलुका खाना खान समस्या हुँने वडावासीलाई वडा भित्रका विभिन्न १३ स्थानबाट खानावितरण गरिएको थियो ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० को संयोजनमा बैशाख ७–२५ गते सम्म मिलनचोक पार्टी भेन्युमा खाना बनाई वडा भित्रका विभिन्न १३ वटा स्थानबाट १९ दिनमा२९ हजार ३ सय ७५ जनालाई खाना खुवाईएको जनाईएको छ ।

बैशाक ७ गते पहिलो दिन ४०० जनालाई खाना वितरण गरिएको थियो भने आज अन्तिमदिन १९५० जनालाई खाना वितराण गरिएको अभियान्ताले जनाएका छन् ।

वडा भित्रका विभिन्न संघ–संस्था, टोलसुधर, महिला समूह, राजनीतिक ब्यक्तित्व लगायतको सहयोगमा उठेको ११ लाख ७० हजार ८८६ संकलन भएको नगद रकमबाट १० लाख ६२ हजार ४०० रकम बराबरको खाना वितरण गरिएको जनाईएको छ ।

वडा भित्र बसोवास गर्ने विपन्न, दैनिक ज्यालादारी मजदुर परिवार, असक्त, अपाङ्ग, विद्यार्थी लगायतलाई पकाएको खाना वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्