कम तौल बनाई ग्यासको कालोबजारी गर्ने पक्राउ



२५ बैशाख २०७७, काठमाडौं

महानगरीय प्रहरी वृत्त बौद्ध, प्रहरी प्रभाग कपन र गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंको संयुक्त टोलीले सिलिन्डरमा कम तौल बनाई ग्यास बिक्रि गर्ने बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का अमित ग्यास सप्लायर्स र राइनो एडियस इन्टरप्राइजेजका सञ्चालक अमितकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

महानगरी प्रहरी बृत्त बौद्धका प्रमुख प्रहरी उपरीक्षक नबिन कार्कीका अनुसार निज श्रेष्ठले ग्यासको सिलिन्डरमा १.७ देखि ७.५६ किलोसम्म ग्यास कम राखेर नक्कली सिल गरी कालोबजारी गरिरहेका थिए । उनले अहिलेसम्म १०० भन्दा बढी सिलिण्डर बेचिसकेको प्रहरीलाई जानकारी गराएका थिए भने डिपोमा खानतलासी गर्दा सिद्धार्थ नामको ४७ र गीता नामको २८ थान गरी जम्मा ७५ वटा ग्यासको सिलिन्डर बरामद भएको छ ।

बरामद भएका ७५ वटै ग्यासको सिलिन्डर मापदण्ड विपरीत कम तौल भएको र नक्कली सिल लगाइएको अवस्थामा फेला परेको बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

बरामद सिलिण्डर सहित पक्राउ परेका श्रेष्ठलाई नापतौल कार्यालय काठमाडौंका निरीक्षक निराजन पुडासैनीले उक्त कसुरमा स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ अनुसार तीन वर्ष कैद र ३० हजार मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरिने जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट कम तौलको ग्यास सिलिन्डरसहित ग्यास निकाल्न प्रयोग हुने फलामको पाइप, नक्कली सिलहरु बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्