
२२ बैशाख २०७७, काठमाडौं
“संखुवासभा–काठमाडौं सेवा समाज” ले संखुवासभाबाट काठमाडौं आएर बसेका विद्यार्थी, मजदुर र समस्यामा परेका परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
बुधबार र बिहीबार दुई चरणमा गरी २३९ परिवारलाई खाद्यान्न वितरण गरिएको हो । संखुवासभाका १० वटै निर्वाचन क्षेत्रलाई मध्यनजर राखेर समन्वय गरिएको थियो । यसैगरी दीर्घ रोगीहरुलाई उहाँहरूकै डेरामा लगेर खाद्यान्न उपलब्ध गराईएको थियो ।

संस्थाका अध्यक्ष जीवन राईका अनुसार राहत कार्यक्रमले लकडाउनका कारण के खाने भन्ने गुनासो बढेपछि, सबै विद्यार्थी, मजदुर र समस्यामा परेका जिल्लावासीलाई समेट्ने कोशिष गरिएको छ । कार्यक्रम निरन्तर रहनेछ । उनले संकटको घडीमा सबैजना मानवीय सेवामा जुट्नुपर्ने र सबैको सहयोग अपरिहार्य भएको हुनाले सकेको सहयोग गर्न अपिल समेत गरेका छन् ।

त्यसैगरी संस्थाका सचिव तथा अनेरास्ववियुका केन्द्रिय सदस्य उत्तर बहादुर खड्काले पहिलो चरण अन्तर्गतको राहत वितरण कार्यक्रम चावहिल, कपन, जोरपाटी, मैतीदेवी, कोटेश्वर, कौशलटार, सातदोबाटो, कीर्तिपुर, कलङ्की र बालाजु आसपासको क्षेत्रमा गरी सकिएको र अन्य क्षेत्रको समेत योजना गर्दै गरेको जानकारी दिएका छन् । उनले साँच्चै समस्यामा परेका संखुवासभावासीहरुको पहिचान र सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता जनाएका छन् ।

अभियानको समन्वय गरिरहेका विज्ञान दाहालले संकटको घडीमा समस्यामा परेका विद्यार्थी र मजदुरहरुमा खाद्यान्न पुर्याउन सबै सहयोगी मनहरु एकजुट हुनुपर्ने कुरा व्यक्त गरे । साथै सहयोगको शिलशिला निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
संखुवासभाबाट काठमाडौं बिरामी भएर आएका २ जना मृगौला रोगी र अरु ४ जना विभिन्न रोगीलाई आवश्यक खाद्यान्न उनीहरुकै डेरा मै लगेर उपलब्ध गराइयो समेत उनले जानकारी गराए ।





