प्रधानमन्त्री ओलीले सरकार पुनर्गठन गर्ने, पदबाट हटाउन लागि परेकाहरु हिस्स



२० वैशाख २०७७, काठमाडौं

प्रधानमन्त्री केपी ओलीले सरकार पुनर्गठन गर्ने भएका छन् ।

दलभित्रको चरम राजनीतिक संकटमा फसेर पद नै गुमाउने अवस्थामा पुगेका प्रधानमन्त्री ओलीले कठिनतापूर्वक पद जोगाएलगत्तै सरकार पुनर्गठन गर्ने भएका हुन् ।

अन्तिम समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य मध्ये ओलीका पक्षमा वामदेव गौतम, विष्णु पौडेल, रामबहादुर थापा र इश्वर पौडेल उभिएपछि सचिवालयमा ओलीलाई बहुमत पुगेको हो । उनलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउन लागि परेकाहरु हिस्स पर्ने भएका छन् ।

आन्तरिक राजनीतिमा उलटफेर पार्दै अल्पमतमा परेका ओलीले बहुमत जुटाएसँगै पूर्वप्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल एक ठाउँमा पुगेका छन् ।

अर्का सदस्य नारायणकाजी श्रेष्ठले भने प्रधानमन्त्री फेर्न नहुने पक्षमा आफ्नो साथ रहने बचन दिएको दाबी पनि ओली पक्षको छ । सचिवालयमा बहुमत जुटाएसँगै प्रधानमन्त्री ओलीले सरकार पुनर्गठन गर्ने भएका हुन् ।

अन्तिममा आफ्नो पद जोेगाउन साथ दिनेहरुलाई उनले पुरस्कृत गर्ने भएका छन् । यसका लागि सबैभन्दा पहिले नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनयन गरिने छ ।

राष्ट्रिय सभामा मनोनयनलगत्तै वामदेवलाई उपप्रधानमन्त्री बनाइने बचन पनि ओलीले दिएको जनाइएको छ । सरकार पुनर्गठन हुँदा सचिवालयका अर्का सदस्य नारायणकाजी श्रेष्ठ पनि समेटिने बताइउको छ ।

श्रेष्ठलाई सरकारमा उप्रधानमन्त्री र शिक्षा मन्त्रालयको जिम्मेवारी मिल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्