बम विस्फोटको घटना : छानविन गरी दोषीलाई कारबाही गर्न माग



१९ वैशाख २०७७, काठमाडौं

नेपाली कांग्रेसले रोल्पामा बेबारिसे बम विस्फोट भएर ४ बालबालिकाको मृत्यु भएको घटनाबारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा बेबारिसे बम खेलाउँदा ४ बालबालिकाको मृत्यु भएको थियो । कांग्र्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज (शुक्रबार) विज्ञप्ति जारी गरी उक्त घटनाले मर्माहत तुल्याउनुका साथै सशस्त्र द्वन्द्वको घाउमा खाटा बस्न बाँकी रहेको बेला यस्तो घटना देखिनु अत्यन्तै दुखद र गम्भीर भएको उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेस यो घटनाको गहिरो अनुसन्धान गर्न सरकार समक्ष माग गर्दछ। जहाँ कहीँपनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्