श्रमजीवी जनताका लागि राहत र विशेष सहयोगको प्याकेज निर्माण गरौं : प्रचण्ड



१९ वैशाख २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी जनताका लागि राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज (शुक्रबार) १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गरिरहेका श्रमिकहरुका लागि खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न आग्रह गरेका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताका लागि राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न सरकारको विशेष ध्यानाकर्षण गराउँदछु।’ साथै प्रचण्डले देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनु सबैको कर्तव्य हो भनेका छन् ।

उनले राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवि जनसमुदायमा सु–स्वास्थ र प्रगतिको अपेक्षासहित शुभकामना व्यक्त गरेका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको लागि मजदूरहरुले गरेका आन्दोलनको स्मरण गर्दै हरेक वर्ष आजकै दिन अर्थात मे १ मा विश्वभर यो दिवस मनाउन थालिएको हो ।

त्यसैगरी नेपालमा वि.स. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरुमा श्रमजीवि जनताको बलिदानीपूर्ण संघर्ष पनि नेपाल र नेपालीका लागि गर्वको बिषयमा भएको भन्दै अध्यक्ष प्रचण्डले स्मरण गरेका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्