बजेट निर्माणमा सांसदको गुनासो, भन्छन्ः ‘वडाध्यक्षको जत्ति पनि भूमिका भएन’



१८ वैशाख २०७७, काठमाडौं

संघीय सांसदहरूले नयाँ आर्थिक वर्षको बजेट निर्माणमा आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा सांसदहरुले निर्वाचन क्षेत्रको योजना छनोटमा आफूहरूलाई सहभागी गराउनुपर्नेमा जोड दिए । प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिका बैठकहरूमा सांसदहरूले यो विषयलाई निरन्तर उठाउँदै आएका छन् । ठूला नेता र पहुँचवाला सांसदको क्षेत्रमा बढी बजेट जाने गरेको उनीहरूको गुनासो छ ।

जनता समाजवादी पार्टीका नेता अनिल झाले निर्वाचन क्षेत्रको योजना छनोटमा सहभागी हुन नपाउँदा सांसद पद नै महसुस नभएको बताए । रौतहट १ बाट निर्वाचित सांसद झाले भने, ‘वडाध्यक्षभन्दा मुनि संघीय सांसद हुने अवस्था छ।’ सोही पार्टीकै अर्का सांसद महेन्द्र राय यादवले बजेट निर्माणमा सांसदहरूको कुरा सरकारले कहिल्यै नसुनेको आरोप लगाए ।

हुम्लाकी सांसद रंगमती शाहीले योजना छनोटमा संघीय सांसदको भूमिका नहुँदा स्थानीय जनप्रतिनिधिबाट हेपिनुपरेको बताए । उनले भने, ‘हाम्रो कुरा सरकारले कहिले सुनेको छ र ! तै पनि यसवर्षको बजेट कृषि र स्वास्थ्यमा केन्द्रित होस् ।’ सांसद टेकबहादुर बस्नेतले प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख, प्रदेश सांसद र संघीय सांसदका बीचमा प्रभावकारी समन्वय हुन नसकेको बताए ।

पुर्नस्थापना प्याकेज ल्याउन निर्देशन विकास समितिले आगामी बजेटमा कोरोना महामारीपछिको पुर्नस्थाना प्याकेज ल्याउन निर्देशन दिएको छ । उक्त प्याकेजमा विदेशबाट फर्किनेहरूलाई रोजगारी दिने व्यवस्था राख्न भनिएको छ । समितिले लकडाउनको समयमा विकास निर्माणका काम जारी समेत राख्न समेत निर्देशन दिएको छ ।

समितिले राहत वितरण गर्दा निष्पक्ष रुपमा गर्न र राहत वितरणसम्बन्धी मापदण्ड बनाउन सरकारलाई निर्देशन दिएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्