
१७ वैशाख २०७७, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस)को संक्रमणबाट बच्न गरिएको बन्दाबन्दी (लकडाउन्)का कारण मर्कामा परेका ऋणीले दुई प्रतिशत ब्याज छुट पाउने भएका छन् ।
राष्ट्र बैंकले मंगलबार (हिजो) परिपत्र गर्दै चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत बिन्दुले कम गरी चौथो त्रैमास (असारसम्म)को ब्याज गणना गर्न निर्देशन दिएको छ । लघुवित्त वित्तीय संस्थाको हकमा चैतसम्मको ब्याजमा ३ प्रतिशत ब्याज घटाउनुपर्नेछ ।
कोरोनाका कारण प्रभावित होटल, रेष्टुँरा, रिसोर्ट, ट्राभल, ट्रेकिङलगायत पर्यटन क्षेत्र तथा हवाई उड्डयन, व्यावसायिक प्रयोजनका सवारीसाधन, साना तथा मझौला उद्योग, निर्यात उद्योग, मनोरञ्जन उद्योग, अस्पताल, कुखुरापालन व्यवसाय आदिले यस्तो छुट पाउने बताइएको छ ।
उल्लिखित ऋणीले सहज रूपमा चालू पूँजी कर्जा पनि पाउनेछन् । यसमध्ये लकडाउन् अघि नियमित साँवाब्याज तिरिरहेका ऋणीको हकमा बैंक तथा वित्तीय संस्था विश्वस्त भए स्वीकृत सीमाको १० प्रतिशतसम्म थप चालू पूँजी कर्जा दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।
|फाइल तस्वीर|





