कोभिड–१९ बाट पिडित ४१ देशका करिब ३० हजार नेपालीले पाए एनआरएनएको राहत



१६ बैशाख २०७७, लण्डन

गैरआवासीय नेपाली संघ (एनआरएनए ) कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले राहत वितरण, स्वदेश फिर्ता र पुनस्र्थापनाको कार्यक्रमलाई युद्धस्तरमा अघि सारेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माका अनुसार ४१ देशमा १ सय ५० भन्दा बढी शहरमा ९ सयभन्दा बढी स्वयम सेवक राहतका लागि खटिएका छन् भने २४ हजारभन्दा बढी गैरआवासीय नेपालीले राहत सामाग्री प्राप्त गरेका छन् ।

संघका राष्ट्रिय समिति र अन्तराष्ट्रिय परिषदले स्थापना गरेको २४ औं घण्टे हटलाइनबाट ७ हजार भन्दा बढी नेपालीले परामर्श लिएको डा. शर्माले जानकारी दिएका छन् । ७० जनाभन्दा बढी मेडिकल डाक्टरले १ हजार २ सयभन्दा बढी नेपालीलाई स्वास्थ्यसम्बन्धी परामर्श दिएका छन् ।

यस्तै राष्ट्रिय समन्वय परिषद्ले पौने ३ करोड रुपैंयाँको राहत कोष स्थापना गरिसकेको छ । कोषको रकम बढ्दो छ । एनआरएनए कोरिया, चीन, मकाउ, हङकङ र युएईले २ करोड रुपैयाँभन्दा बढीको स्वास्थ सामाग्री नेपाल पठाएका छन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदले ५ करोड रुपैयाँको राहत कोष लक्ष्यसहित फन्ड रेजिङ क्याम्पेन अगाडी बढाएको संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठले जनाए ।
यसको लागि संघले क्राउड फन्डिङ क्याम्पनिङ (धेरै जनाबाट थोरै थोरै रकम उठाउने व्यवस्था) गरेको छ । डेविट वा क्रेडिट कार्डबाट अनलाइन (www.nrna.org) वा मोबाइल फोनको रेस्पेक्ट एन्ड राइज एप्स प्रयोग गरी डोनेसन गर्न सकिने व्यवस्था गरेको संघको कोभिड १९ उच्चस्तरीय समितिले जनाएको छ ।

संघले स्थानीयरुपमा सहयोग जुटाउन अफ्ठेरो परेका देशहरुमा आईसीसीले राहत रकम वितरण सुरु भइसकेको जनाएको छ ।
हालसम्म मध्यपूर्वका कुबेत, युएई, सउदी अरबलाई ५–५ हजार युएस डलर र युरोपको साइप्रसलाई ३ हजार युएस डलर रकम उपलब्ध गराएको छ ।

आवश्यकता अनुसार अन्य देशहरुलाई पनि उपलब्ध गराउने योजना रहेको संघका अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले जानकारी दिए ।
यसैगरी नियन्त्रित र सुरक्षित स्वदेश फिर्ताको रणनीतिक योजना बनाई सरकारलाई उच्चस्तरीय समितिले बुझाएको छ । यो योजना जनस्वास्थ्य विज्ञ र मेडिकल डाक्टरहरुको टिमले तयार पारेको हो ।

पुनसस्र्थापना र स्वदेश फिर्ता भएका नेपालीमा कसरी पुनस्र्थापन गर्न सकिन्छ, उनीहरुले बाहिर सिकेको ज्ञान र सिपलाई कसरी देश विकासमा सदुपयोग गर्न सकिन्छ भन्नेबारे योजना बन्दै गरेको उच्चस्तरीय समितिले जनाएको छ ।

स्वास्थ्य समितिले महामारीको सुरुदेखि नै स्वास्थ्य शिक्षामूलक सामाग्रीहरु तयार गरी विद्युतीय माध्यम र सोसिएल मेडियाबाट सचेतना, रोकथाम र प्रवद्र्धनको कार्यक्रमलाई जारी राखेको संघको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए ।

स्वास्थ्य समितिले साप्ताहिक रुपमा संक्रमित र मृत्यु हुनेको तथ्याङ्क तयार पार्ने गरेको छ । २५ अप्रिल २०२० साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ, जसमा बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो । करिब २ हजार जना संक्रमित भएका छन् ।

राहत, उद्दार र पुस्र्थापना कार्यक्रमका लागि नेपाल सरकार, सरोकारवाला निकाय, विदेशस्थित नेपाली कूटनीतिक नियोगहरु र अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग निरन्तर सम्पर्क र सहकार्यमा काम गर्दै उच्चस्तरीय समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्