ट्रम्पले भने, ‘किम जोङको अवस्थाका बारेमा मलाई राम्रोसँग थाहा छ’



१६ वैशाख २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनको स्वास्थ्य अवस्थाबारे आफूलाई राम्रो जानकारी रहेको दावी गरेका छन् ।

सोमबार (हिजो) भएको ब्रिफिङ्गको क्रममा ट्रम्पले भने, ‘मलाई किम जोङ–उनको अवस्था थाहा छ । तर सबै अहिले बताउन सक्दिन । यति चाहिँ भन्न सक्छु कि उनी राम्रो हुन् भन्ने कामना छ । किम जोङ–उनसँग मेरो राम्रो सम्पर्क छ ।’

त्यसअघि उनले भने, ‘मलाई थाहा छ उनको अवस्था कस्तो छ । हेरौँ अब के हुन्छ । तपाईँहरुले पनि किमको अवस्थाका बारेमा चाँडै थाहा पाउनु हुनेछ ।’ तर ट्रम्पले गएको शनिबार नेता किमको सन्देश भनी उत्तर कोरियाका सञ्चारमाध्यमले जारी गरेको सन्देश उनले सोही दिन दिएको भन्नेमा आशंका रहेको बताएका छन् ।

सोमबार उत्तर कोरियाको आधिकारिक पत्रिका रोडोङ्ग सिन्मुनले नेता किमले वुन्सान क्षेत्रको पर्यटन परियोजनाका कामदारहरुका लागि धन्यवाद भनेको भनी उल्लेख गरेको थियो ।

उत्तर कोरियाका सञ्चारमाध्यमले नेता किमका नाममा पछिल्ला दिनमा विभिन्न सन्देशहरुसम्बन्धी खबर प्रकाशित गरेका छन् । तर कुनैले पनि नेता किमको तस्वी राखेका छैनन् ।

किमको स्वास्थ्य राम्रो रहेको र उनी जीवित नै रहेको दक्षिण कोरियाका अधिकारीले बताएका हुन् । दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनका राष्ट्रिय सुरक्षा सम्बन्धी विशेष सल्लाहकार मून–चुङ्ग–इनले सिएनएनसँगको अन्तर्वार्तामा आइतबार भनेका थिए, ‘हाम्रो स्पष्ट भनाई यो छ कि कमि जोङ–उन जीवित र राम्रो अवस्थामा छन् ।’

नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट ब्यूरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका छैनन् । त्यसयता किमको स्वास्थ्य अवस्थालाई लिएर पुष्टि नभएका विभिन्न खबरहरु आइरहेका छन् ।

कतिले उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्नेसम्म दावी गरेका छन् । गएको सोमबार दक्षिण कोरियाको सिओलबाट सञ्चालन हुने डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो ।

सो अनलाइनले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै खबर लेखेको थियो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था वा उनी कहाँ छन् भन्ने बारे केही जानकारी दिएको छैन ।

पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन् । उनी तेस्रो पुस्ताका शासक हुन् । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्