ओली–नेपाल छलफलपछि दुवै टोलीबीच वार्ता



१५ वैशाख २०७७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधव कुमार नेपालबीच समझदारीको प्रयास जारी छ ।

दुवै पक्षका नेताहरुबीच शक्ति बाँडफाँटको छलफल हुनुअघि प्रधानमन्त्री ओली र नेता नेपालबीच सोमबार (आज) पुनः छलफल भएको हो । ओली र नेपालबीच एक्लाएक्लै कुराकानीपछि दुवैतर्फका नेताहरु संवादमा जुटेका छन् ।

ओली पक्षका चार नेता र नेपाल पक्षका चार नेताबीच नेपाल निवास कोटेश्वरमा छलफल शुरु भएको बताइएको छ । नेपाल पक्षका स्थायी कमिटीको आइतबारको बैठकले प्रधानमन्त्रीसँग समझदारीको बटमलाइन बनाउने जिम्मा नेपाललाई नै दिएको थियो ।

सोही बमोजिम नेपाल बालुवाटार पुगेका थिए । ओलीले नेपाल पक्षसँग वार्ता गर्न ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई जिम्मा दिएका छन् ।

यस्तै नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेता सहभागी रहेको नेकपा स्रोतले जनाएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्