सांसद अपहरण प्रकरण : जाहेरी दर्ता गर्न प्रहरी हेडक्वार्टरको निर्देशन



१५ वैशाख २०७७, काठमाडौं

पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा)का सांसद् डा. सुरेन्द्र यादवको अपहरण प्रकरणमा मुछिएकाहरु विरुद्धको किटानी जाहेरी दर्ता गर्न प्रहरी हेडक्वाटरले निर्देशन दिएको छ।

प्रहरी प्रवक्ता डिआइजी निरज शाहीले कानुन अनुसार जाहेरी दर्ता गर्न निर्देशन दिएको जानकारी दिए । दर्ता गर्न नमाने त्यसको पनि कानुनी बाटो खुल्ला रहेको उहाँले बताए ।

सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जबर्जस्ती बुधबार राति सांसद यादवलाई काठमाडौं ल्याएका थिए।

यसअघि आइतबार प्रहरी परिसर टेकुले सांसद् यादवको अपहरण प्रकरणमा किटानी जाहेरी लिन मानेको थिएन। सांसद यादवलाई अपहरण गरिएको भन्दै जसपाका नेताहरू प्रहरीमा मुद्दा दर्ता गराउन प्रहरी परिसर टेकु पुगेका थिए।

तर, प्रहरीले जाहेरी लिन नमानेको र महोत्तरी जान भनेपछि प्रहरी र नेताहरूबीच चर्काचर्की भएको थियो। प्रहरीले जाहेरी लिन नमानेपछि सामाजिक सञ्जालमा प्रहरीको तिव्र आलोचना भइरहेको छ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्