
१५ वैशाख २०७७, काठमाडौं
सात महिनादेखि हराइरहेका भूमे गाउँपालिका–९ चुन्बाङका १३ वर्षीय विनय पुनको कङ्काल भेटिएको छ ।
गत वर्ष ६ असोजदेखि हराइरहेका पुनको सोमबार (आज) कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।
हराएका बालक नभेटिएपछि खोजी गरिदिन आग्रह गर्दै परिवारले गत वर्ष ५ पुषमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो । बाख्रा चराउन गएका स्थानीयवासीले जंगलको खोल्सामा मानव कङ्काल भेटिएको खबर प्रहरीलाई गरेका थिए ।
बालकको घरदेखि आधा घण्टाको पैदल दूरीमा उनको कङ्काल भेटिएको हो । प्रहरीसँग घटनास्थल पुगेका बालकका परिवारका सदस्यले उनले लगाएको कपडा र साथमा रहेको सामसुङ मोबाइलबाट शव पहिचान गरिएको प्रहरी निरीक्षक गुरुङले बताए ।
बालकको मृत्यु आफैँ भएको नभई कसैले हत्या गरेको हुन सक्ने भन्दै परिवारले थप अनुसन्धान गर्न प्रहरीमा निवेदन दिएको छ ।
|फाइल तस्वीर|





