
१३ बैशाख २०७७, काठमाडौं
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) बाट जोखिम हुन नदिन लकडाउन जारी रहेको छ । सरकारले गत चैत ११ गते पहिलोपटक लकडाउन जारी गरेको थियो । यसपछि विशेष गरी काठमाडौँ उपत्यकाभित्र दैनिक ज्यालादारी गरी जीवन गुजारा गर्ने मजदुर, विद्यार्थी र सर्वसाधरण बढी समस्यामा परेका छन् । राजधानीमा खान र बस्न सक्ने अवस्था नभएपछि उनीहरु रात दिन सयौँ किलोमिटरको बाटो पैदल यात्राबाटै आफ्नो घर जान बाध्य भए ।
सिन्धुली तीनपाटन गाउँपालिका वडा नं ४ का विनोद दुलालका अनुसार, “लामो समय उपत्यकामा विभिन्न समस्या झेल्दै दिन काटेका हामी एक महिनापछि गाउँघर फर्किन पायौँ । फेसबुक र टिभीमा मजदुर पैदल नै घर फर्केकोे तस्वीर देखेपछि ढिलोचाँडो हाम्रो हालत पनि यस्तै होला भन्ने लागेको थियो । अहिले उक्त त्रासबाट मुक्त भएका छौँ ।”
राजधानीमा अलपत्र परेका मजदुर, विद्यार्थी तथा सर्वसाधरणलाई तीनपाटन गाउँपालिकाले धमाधम आफ्नो गाउँघर फर्काउन थालेको छ । गाउँपालिकाले नै आर्थिक खर्च व्यहोर्ने गरी गाडीको व्यवस्थासहित नागरिकलाई गाउँ ल्याएको हो । गाउँपालिकाका अनुसार काठमाडौँमा अलपत्र परेका सर्वसाधारणलाई नौ वटा बस व्यवस्थापन गरी ६५८ जनालाई सिन्धुली ल्याइएको हो । गाउँपालिकाको वडा नं ३ झार्लङटारमा पालिका बाहिरबाट आएका नागरिकको स्वास्थ्य जाँच गरेपछि मात्रै घर पठाउने गरिएको छ । उपत्यकाबाट आएका सर्वसाधरण १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने विषयलाई गाउँपालिकाले अनिवार्य बनाएको छ । त्यसपछि स्वास्थ्यमा केही समस्या देखिए थप परीक्षण तथा उपचार गरिने व्यवस्था गाउँपालिकाको छ ।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापाले यो आफ्नो कर्तव्य भएको बताउँदै यस्तै समस्यामा परेको कोही हुनुहुन्छ भने गाउँपालिकामा सम्र्पक गर्नसमेत अनुरोध गरेका छन् । ढिलै भए पनि स्थानीय सरकारको सहयोगमा घर आउन पाउँदा स्थानीय खुशी छन् । पिठ्युमा बच्चा बोकेकी एक महिला भन्दै थिईन्, “गाउँ आउन पाइयो यसैमा खुशी छु । अब त साग मात्रै खाएर भए पनि बाचिँने आत्मबल जागेको छ । बिनाखर्चमा सजिलोसँग आउन पाइयो यसमा झन् खुशी छु ।”
नागरिकहरुमा मनोवैज्ञानिक त्रास बढ्दै जाँदा आफ्ना नागरिकलाई सहज व्यवस्थापन गर्न केन्द्र सरकारबाट उपायसहितको निर्देशन आउने अपेक्षा थियो ।
अध्यक्ष कर्ण थापा भन्छन्, “त्यो नपाएपछि उपत्यकामा राजनीतिक र सामाजिक क्षेत्रमा रहनुभएका साथीहरूसँग समन्वय गरेर आफ्ना नागरिक ल्याएका हौँ । जनतालाई समस्या परेको महसुस गरेपछि हामीले कुनै यात्रुको पनि भाडा नलिने निर्णयका साथ गाडीधनी र चालकसँग समन्वय गरेर काठमाडौँ पठाएका थियौँ त्यसै अनुसार यहाँका नागरिक आफ्नो घर फर्किएका हुन् ।”
अध्यक्ष थापाका अनुसार “आफ्नो गाउँपालिकाको जनताको करबाट सञ्चालन भएको सरकारले अप्ठ्यारो परेको समयमा आफ्ना नागरिकलाई निःशुल्क घर ल्याउने सेवा गर्न पाउँदा हामी पनि खुशी भएका छौँ । सम्पूर्ण तीनपाटनवासी आफैँले तिरेको करको पैसाले घर आए, त्यसैले यो खर्च गाडीलाई गाउँपालिकाले दिन्छ । यस कार्यमा जनप्रतिनिधिको भूमिका भनेको सम्पर्क गरेर आफ्ना नागरिक ल्याउने मात्र हो ।
एक सय ५० भन्दा बढी गाउँपालिकाको सम्पर्कमा आएका पोखरामा रहेका नागरिकलाई लिन तीनपाटन गाउँपालिकाले आज तीन बस पोखरा पठाएको छ । त्यसैगरी काठमाडौँमा बाँकी रहेका आफ्नो वडाका नागरिकलाई उनीहरु बसिरहेको घरमै राहतस्वरुप खाद्यान्न पठाएको छ । हालसम्म ५७ परिवारलाई खाद्यान्न उपलब्ध गराएकाको जानकारीसमेत जानकारी गराईएको छ । –आदित्य दाहाल





