जनप्रतिनिधि र नागरिकसँग टुटेको सम्बन्ध जोड्ने अभिभारा अनुभवी प्रहरी निरीक्षक मल्लको कमाण्डमा



१२ बैशाख २०७७, काठमाडौं

महानगरीय प्रहरी प्रभाग कपनको नेतृत्व अनुभवी प्रहरी निरीक्षक शेखर जङ्ग मल्लले पाएका छन् । उनले जिम्मेवारी पाएसँगै महानगरीय प्रहरी प्रभाग कपन र स्थानीय जनप्रतिनिधि तथा नागरिक संगठनसँग प्रहरी नेतृत्वको टुटेको सम्बन्ध जोडिने अपेक्षा गरिएको छ ।

प्रहरी सहायक निरीक्षकबाट २२ वर्ष अघि प्रहरी सेवामा प्रवेश गरेका निरीक्षक मल्ल प्रहरी भित्र अनुशाशित र स्वच्छ छवि भएका अधिकृतको रुपमा चिनिन्छन् । २१ वर्षको युवा अवस्थामा २०५४ साल चैत्र १६ गते प्रहरी सहायक निरीक्षक बनेका मल्ल आफ्नो सफल भूमिका निर्वाह गर्दै २०५९ साल असोजमा प्रहरी नायब निरीक्षक भए ।

२०७१ चैत्र देखि प्रहरी निरीक्षक बनेका मल्लले जिम्मेवारी प्राप्त गरेसँगै जिल्ला प्रहरी कार्यालय रोल्पा, प्रहरी प्रधान कार्यालय हुँदै १८ महिना काभ्रे ट्राफिक कार्यालयमा सेवा गरे । ट्राफिक प्रहरीको जिम्मेवारीपछि केन्द्रिय प्रहरी विशेष कार्यदलमा करिब १ वर्ष विताएका मल्लले विवादित छवि बनाएकी निवर्तमान प्रहरी निरीक्षक सुरक्षा केसीको काज सरुवा भएसँगै २०७७  बैशाख १० गतेदेखि महानगरीय प्रहरी प्रभाग कपनको नेतृत्व सम्हालेका छन् ।

पश्चिम रुकुमको मुसिकोट नगरपालिका खलंगामा जन्मिएका मल्ल जुनियर अधिकृतदेखि प्रहरी सेवामा लामो समय विताएको कारण सबैको भावना बुझ्ने क्षमता भएको विस्वास कपन प्रभागकै सहकर्मीहरुले गरेका छन् ।

स्थानीय जनप्रतिनिधिलाई असहयोग गरेकी महिला प्रहरी निरीक्षक केसीले टुटाएको जनसम्बन्ध विस्तारका साथै प्रभागमा कार्यरत सबै सहकर्मीहरुको भावना जित्नुपर्ने चुनौती समेत मल्लमा थपिएको छ । नयाँ वस्तीको रुपमा चिनिएको कपन क्षेत्रमा हुने अपराधिक क्रियाकलापाको नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने मुख्य दायित्व मल्लले कसरी निभाउने हुन् त्यो आगामी दिनले देखाउने छ ।

परिवर्तन खबरसँगको कुराकानीमा निरीक्षक मल्लले भने, “म यहाँ करिब १ वर्षको जिम्मेवारीमा आएको अस्थायी व्यक्ति हुँ । स्थानीय जनप्रतिनिधिसँग मिलेर काम गर्नु नै हाम्रो पनि चाहना हुन्छ । कपन क्षेत्रमा बसुन्जेल यस क्षेत्रको शान्ति, सुरक्षा सुमधुर बनाउन र नागरिक सम्बन्ध बलियो बनाउन प्रयत्नशील रहनेछु । नेपाल प्रहरीले तोकेको मेरो जिम्मेवारी जनप्रतिनिधि, स्थानीय समाजसेवी र आम नागरिकसँगको सहकार्यले मात्र सम्भव हुन्छ भन्नेमा मेरो विश्वास छ ।”

प्रतिक्रिया दिनुहोस्