यो संकटको घडीमा जनताको जीवन रक्षा गर्नु नै हाम्रो प्रमुख दायित्व : सांसद राई



१२ वैशाख २०७७, काठमाडौं

सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सांसद हेमकुमार राई ‘सुरवीर’ले बन्दाबन्दी (लकडाउन्)का कारण काठमाडौं उपत्यकामा समस्यामा परेका सोलुखुम्बुवासीहरुको उद्धार कार्य शुरु भएको बताएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण थप फैलन नदिन सरकारले गत वर्षको ११ चैत्रदेखि मुलुकभर बन्दाबन्दी (लकडाउन्)को घोषणा गरेको छ ।

जसका कारण मजदूर, गरिब तथा अतिविपन्न वर्गमा नागरिकले ठूलो समस्याको सामना गरिरहेका छन् । यसैलाई ध्यानमा राख्दै सांसद राईले काठमाडौंमा अत्यन्तै समस्यामा परेका सोलुखुम्बुवासीको उद्धार हिजो (बिहीबार)देखि शुरु भइसकेको बताएका छन् ।

“लकडाउनले गर्दा काठमाडौंमा अत्यन्तै समस्यामा पर्नुभएका सोलुखुम्बुवासी जनतालाई सोलु जाने व्यवस्था गर्ने निर्णय गरिसकिएको र हिजै बाट यात्रा शुरु भइसक्यो ।” सांसद राईले आफ्नो आधिकारिक फेसबूक ह्याण्डलमा स्थिति राख्दै लेखेका छन्, ‘यो संकटको घडीमा जनताको जीवन बचाउनु र जीवन रक्षा गर्नु हाम्रो प्रमुख दायित्व हो ।’

सांसद राईले यात्राका क्रममा भीडभाड नगर्न, चालक र यात्रु सबैले मास्क प्रयोग गर्न, सवारी साधनमा एक्सप्रे छर्किन, स्यानीटाईजर प्रयोग गर्न र बाटोमा जहाँत्यहीँ नरोक्न/नरोकिन सुझाव पनि दिएका छन् ।

यस्तै उपत्यकादेखि बाटोमा हुने चेकजाँच, बाधा अवरोधको सवालमा आवश्यक समन्वयका लागि गएराति आफू काठमाडौं आइपुगेको समेत उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्