लकडाउन उल्लघंन गर्ने १९४१ जना नियन्त्रणमा



१० बैशाख २०७७, काठमाडौं

काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ४२ महिला सहित  १९ सय ४१  जनालाई नियन्त्रणमा लिईएको छ ।

आज विहान ६ बजेदेखि बेलुका १८ः०० बजेसम्म उक्त संख्या नियन्त्रणमा लिईएको हो । यसैगरी ३ सय ९१ वटा दुई पाङग्रे र ३४ वटा चारपाङग्रे गरी ४ सय २५ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौंमा सबैभन्दा बढी १६ सय ५३, ललितपुरमा १ सय ७७ र भक्तपुरमा १ सय ११ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

लकडाउन एउटा व्यक्ति वा समूहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उनले आग्रह गरेका छन् ।

साथै महानगरीय प्रहरी कार्यालय तथा स्थानिय निकायको समन्वयमा ७० जना विपन्न मजदुरहरूलाई राहत सामग्री समेत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्