गाउँबासीलाई ल्याइयो घर



११ बैशाख २०७७,काठमाडौं

काठमाडौँमा ज्याला मजदूरी वा विविध कारणले लकडाउनका कारण समस्यामा परेका जिल्लाका नागरिकलाई स्थानीय सरकार र प्रदेश सांसदको पहलमा घरमा ल्याइएको छ । गल्छी गाउँपालिकाले तीन सय नागरिकलाई काठमाडौँबाट ६ बसमा गाउँपालिकामा ल्याएको छ ।

वाग्मती प्रदेशसभा सदस्य जगत् सिंखडाले करीब ६ सय मानिस १४ बसमा घर ल्याउनुभएको छ । यसैगरी नेपाली काँग्रेस सभापति रमेश धमलाको पहलमा काठमाडौँमा रोकिएका मजदूरलाई आज बेलुका धादिङ्बेंसी ल्याउन लागिएको छ ।

सिद्धलेक गाउँपालिकाले काठमाडौँमा रहेर समस्यामा परेकालाई गाउँ ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो । नेत्रावती डबजोङ गाउँपालिकाले काठमाडौँमा रहेकाहरुलाई तीन गाडीमार्फत गाउँ ल्याउन प्रक्रिया शुरु गरेको गाउँपालिका अध्यक्ष दुर्गाकुमार शाक्यले जानकारी दिनुभयो ।

मजदूरलाई खाना र बास
भद्रकाली सामुदायिक विकास समाजले सडक तथा वडा कार्यालय बनाउन आएका अलपत्र छ मजदूरलाई खाना खुवाएर सुरक्षित राख्ने गरेको छ । सिद्धलेकस्थित पीपलटारमा रहेको वडा कार्यालय बनाउने कोहलपुरका मजदूरलाई तीन दिनदेखि भद्रकालीमा राखिएको हो । ठेकेदार भागेर पैसा नदिएपछि समस्यामा परेका तिनलाई उद्धार गरिएको समाजका कोषाध्यक्ष रामहरि थापाले जानाकरी दिनुभयो

दार्खाबाट आएका सात जनालाई बुधबार खाजा खुवाएर समाजले सवारी साधनमा चढाएर दाङ पठाइसकेको छ । यसअघि पृथ्वीराजमार्गको ग्याबिन वाल लगाउँदै आएका १६ मजदूरलाई २५ दिनसम्म खाना खुवाएर सुरक्षित आवासमा राखिएपछि सल्यान र सुर्खेत पठाइएको थापाले जानकारी दिनुभयो ।

खरीदबिक्री समय निर्धारण
धादिङ उद्योग वाणिज्य संघले बन्द गरिएका अत्यावश्यक सामग्रीका पसल संचालनका लागि अनुरोध गरेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले खाद्यान्न, ग्यास, औषधि, तरकारी, फलफूल, दानालगायत पसल व्यक्तिगत सुरक्षाका उपाय अपनाएर संचालन गर्न आग्रह गरेको हो ।

बिहान ११ देखि अपराह्न ४ बजेसम्म अत्यावश्यक सामग्रीका पसल संचालन गर्न व्यवसायीलाई आग्रह गरिएको छ । यसैगरी बैंकिङ, बीमालगायत सेवासमेत सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्न आग्रह गरिएको धादिङ उद्योग वाणिज्य संघका रोहित भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाको कोष स्थापना
गंगाजमुना गाउँपालिकाले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि रु रु ६० लाखको कोष स्थापना गरेको छ । कार्यपालिकाको बैठकले प्रकोप व्यावस्थापन कोष स्थापना गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जानकारी दिनुभयो ।

कोषको रकम विभिन्न स्वास्थ्य सामग्री खरीद गर्नेदेखि, राहत वितरण, उपचार खर्च तथा संक्रमण फैलन नदिनका लागि पूर्वतयारीका लागि खर्च गरिने गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीले बताउनुभयो । गाउँपालिकाले एक हजार २६१ घरधुरीलाई राहत वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्