
१० वैशाख २०७७, काठमाडौं
बर्दियाको बाँसगढी नगरपालिकाको मानखोलास्थित सडक किनारामा एक बोरा पैसा फेला परेको छ ।
सडक छेउमा बेवारिसे अवस्थामा फालिएको उक्त बोराभित्र पैसा छ भन्ने थाहा पाएपछि कसैले दावी नगरेको प्रहरीले जनाएको छ ।
कोरोना संक्रमणको त्रासले स्थानीयले आफ्नो भएको दावी नगरेको स्रोतले बताएको छ । कतिपय स्थानीयले भने मान्छे मर्दा आर्यघाटमा चढाएको पैसा हुनसक्ने अनुमान गरेका छन् ।
बोरामा भएका नोटहरुमा अधिकांश ५ रुपैयाँका नोट रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी राजेशनाथ बास्तोलाले भने लकडाउनअघि कसैले छाडेको हुनसक्ने बताए ।
अहिले सो रकम कसको हो भन्ने विषयमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।





