अमेरिकाले लगायो ग्रीनकार्डमाथि अस्थायी प्रतिबन्ध



१० वैशाख २०७७, काठमाडौं

अमेरिकाले आप्रवासीहरुमाथि थप कडाई गरेको छ । उसले ग्रीनकार्डको आवेदनमा दुई महिनाका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

ह्वाइटहाउसमा नियमित पत्रकार सम्मेलनमा अमरीकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेरोजगार अमेरिकीहरुलाई ध्यान दिँदै इमिग्रेशनमा ६० दिनको प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् ।

यो निर्णयमाथि अधिकारीहरुले मूल्यांकन गरी पछि परिवर्तन गर्न सकिने तर त्यसका लागि देशको अर्थव्यवस्थामा भरपर्ने पनि उनले शर्त राखेका छन् ।

यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुका लागि लागू हुने भए पनि अस्थायी रुपमा कामका लागि अमेरिका आउनेका लागि भने यो लागू नहुने उनले बताए ।

प्रतिबन्धको समय अरु लम्बिन पनि सक्ने ट्रम्पको भनाइ छ । आवश्यक परेमा अरु ३० दिनसम्म वा त्योभन्दा बढी पनि लम्ब्याउन सकिने उनको भनाइ छ ।

कोरोना भाइरसका कारण जागीर गुमाएका अमेरिकी नागरिकको रोजगारी सुनिश्चित गर्न यस्तो व्यवस्था गर्नुपरेको उनले बताएका छन् । यसैगरी राष्ट्रपति ट्रम्पले अमरिकाका करिब ४० प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने २० राज्य लकडाउन खोलेर अर्थव्यवस्थालाई फेरि चलायमान बनाउने खोजिमा जुटेको बताए ।

ट्रम्पले चीनसँग व्यापार युद्ध चलिरहेकै बेला कोरोना भाइरस फैलिएको भन्दै चीनप्रति आफूले जस्तो कडा व्यवहार कसैले नगरेको जिकीर पनि गरेका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्