‘अमेरिकी ग्रीनकार्ड ६० दिनका लागि स्थगित हुनेछ ‘-ट्रम्प



१० बैशाख २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेरोजगार अमेरिकी नागरिकलाई ध्यानमा राख्दै अन्य देशका नागरिकलाई अमेरिका प्रवेशमा ६० दिनको अस्थायी प्रतिबन्ध लगाएका छन् । साथै, ट्रम्पले अमेरिकी प्रशासनले ६० दिनका लागि ग्रीनकार्ड जारी नगर्ने पनि जानकारी दिएका छन् ।

ग्रीनकार्डमाथिको प्रतिबन्ध लगाउनुको कारण स्पष्ट पार्दै उनले भने, ‘सुरुमा अमेरिकी कामदारलाई ध्यानमा राख्नुपर्छ ।कोरोनाभाइरस संक्रमणको प्रभाव र आफ्ना देशवासीलाई बचाउने अभियानमा अहिलेसम्म लाखौं अमेरिकीहरुको जागिर गुमेको छ । तसर्थ अमेरिकीलाई पुनः जागिर र कामको सुनिश्चित गर्नु सरकारको नैतिक कर्तव्य हो ।’

ट्रम्पले थपे, ‘अमेरिकी नागरिकको साटो प्रवासीलाई जागिर दिँदा यो ती अमेरिकीमाथि सरासर गलत र अन्याय हुनेछ जसको जागिर यो भाइरसका कारण गुमेको छ । हामी आफ्ना अमेरिकी कामदारलाई बचाउन चाहन्छौं र मलाई लाग्छ हामी जसरी अघि बढ्छौं हामी उनीहरुप्रति थप रक्षात्मक हुँदै जानेछौं ।’

ट्रम्पले उक्त प्रतिबन्धबारे पुनर्मुल्याङ्कन गर्ने र आवश्यक पर्दा यसलाई ३० दिन वा सोभन्दा बढीका लागि पनि बढाउन सकिने बताएका छन् । प्रवासी किसानसँग जोडिएको एक प्रश्नको जवाफमा ट्रम्पले भने, ‘यो आदेशको असर किसानमाथि हुनेछैन ।’

प्रतिक्रिया दिनुहोस्