‘पार्टी एकतामा आघात पुग्ने गतिविधि कसैले नगरौं’



०९ वैशाख २०७७, काठमाडौं

सत्तारूढ दल नेपाल क्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले विषम परिस्थितिमा पार्टी एकतामा आघात पुग्ने गतिविधि कसैले नगर्न अपिल गरेका छन् ।

अहिले विकसित कतपिय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको भन्दै उनले नेता कार्यकर्तालाई एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममा क्रियाशिल रहन आह्वान गरेका छन् ।

सरकार, पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्न सक्ने गतिविधि गर्न नहुने नेता नेपालले बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले आज दिउँसो एक विज्ञप्ति जारी गर्दै कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणमा सरकार, आफ्नो पार्टीसहित अन्य पार्टीका नेता, कार्यकर्ता र जनताको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखेका हुन् ।

नेता नेपालले पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ(आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरेका छन् ।

सरकारले हिजो राजनीतिक दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि अहिले उक्त विषयले सत्तारूढ दल नेकपामा तर‌ंग ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्