
०९ बैशाख २०७७, काठमाडौं
नेपाल टेलिकमले मोबाइलमा ब्यालेन्स सकिएकाहरुको लागि निःशुल्क सेवा उपलब्ध गराउने भएको छ ।
टेलिकमले लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई निःशुल्क सेवा दिन लागेको हो । ब्यालेन्स शून्य भएको र पटक-पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले सन्देश पठाउनेछ । टेलिकमले आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले त्यस्ता ग्राहकको विवरण संकलन भैरहेको जानकारी दिएका छन् । मंगलबारदेखि नै यो सेवा लागू हुनेगरी तयारी भइरहेको टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले बताए । अधिकारीले भने , ‘लकडाउन अवधिभरी कसैले पनि पैसा नहुँदा सञ्चार सेवाबाट वञ्चित हुन नपरोस भन्ने हाम्रो चाहना हो’
टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ ।





