‘आप्रवासीलाई अमेरिका आउन नदिने आदेशमा हस्ताक्षर गर्दैछु’



०९ वैशाख २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीलाई अमेरिका आउन रोक्ने कार्यकारी आदेशमा आफूले हस्ताक्षर गर्न लागेको घोषणा गरेका छन् ।

उनले सोमबार (हिजो) राति आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा ट्वीट गर्दै कोरोना महामारीपछि अमेरिकी नागरिको जागिर जोगाउन आप्रवासीलाई अस्थायी रूपमा अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गर्न लागेको घोषणा गरेका हुन् ।

“अदृश्य शत्रुको आक्रमण र हाम्रा महान् अमेरिकी नागरिकको रोजगारी जोगाउन म आप्रवासीलाई केही समयका लागि अमेरिका प्रवेशमा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सोचमा छु ।” उनले ट्वीटमार्फत् भनेका छन् ।

केही सातायता ट्रम्प प्रशासनले स्वास्थ्यको मुद्दालाई देखाएर अमेरिका प्रवेश गर्न चाहने शरणार्थी, कागजातविहीनहरूलाई रोक्ने कदम ठिक हुने भन्दै आएका थिए ।

राष्ट्रपति ट्रम्पले कुन कानूनका आधारमा आप्रवासीहरूलाई अमेरिका प्रवेशको ढोका बन्द गर्ने आदेश ल्याउँछन् भन्ने स्पष्ट छैन । पछिल्लो समय अमेरिका कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्