उत्तर कोरियाली नेता जोङलाई मुटुमा गम्भीर समस्या



०९ वैशाख २०७७, काठमाडौं

एक दक्षिण कोरियाली रिपोर्टले यसै महिनाको शुरुमा मुटुको शल्यक्रिया गरेका उत्तर कोरियाली नेता किम जोङको उपचार जारी रहेको जनाएको छ ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार १५ अप्रिलमा उत्तर कोरियाका संस्थापक पिता र किमका हजुरबुबा किम इल सुङको जन्मदिनको वार्षिकोत्सव समारोहमा किम उपस्थित नभएपछि उनको स्वास्थ्यलाई लिएर यस्तो अनुमान गरिएको हो ।

उत्तर कोरिया समर्थकहरूले संचालन गर्दै आएको डेली एनके वेभसाइटका अनुसार १२ अप्रिलमा किम मुटुको उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

सो वेबसाइटका अनुसार किम हाल पूर्वीय तटमा रहेको ह्यासाङस्थित माउन्ट कुमगाङ रिसोर्टमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।

दक्षिण कोरियाको एकिकरण मन्त्रालयले भने यसमा कुनै टिप्पणी दिन अस्वीकार गरेको छ । एकीकरण मन्त्रालयले अन्तर कोरियाली मामिलाहरू सम्हाल्दै आइरहेको छ ।

दैनिक धुम्रपान, मोटोपन र अधिक कामका कारण किमको स्वास्थ्य केही महिना यता बिग्रिएको डेली एनकेले जनाएको छ । “मेरो बुझाइमा उहाँ गत अगस्टदेखि नै हृदय सम्बन्धी समस्याहरूसँग संघर्ष गर्दै हुनुहुन्थ्यो तर पेक्टु पर्वतमा बारम्बार भ्रमण गरेपछि उहाँको स्वास्थ्य झनै बिग्रियो ।” एक स्रोतले भनेको छ ।

रिपोर्ट अनुसार ११ अप्रिलमा किम सार्वजनिक रूपमा अन्तिम पटक देखा परेका थिए । सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्युरोको बैठकको अध्यक्षतापछि उनी अस्पताल प्रस्थान गरेको बताइन्छ ।

यसैगरी अमेरिकी संचारमाध्यम सिएनएनले आफ्नो समाचारमा मुटुको शल्यक्रियापछि किमको स्वास्थ्य खतरापूर्ण रहेको जनाएको छ । उसले आफ्नो समाचारमा किमको स्वास्थ्य गम्भीर भएपनि त्यो कति गम्भीर छ भन्ने बारेमा केही जानकारी प्राप्त हुन नसकेको जनाएको छ ।

सिएनएनले समाचारमा अमेरिकी अधिकारीहरूलाई उद्धृत गरेको छ । यसैगरी सिएनएनसँगको कुराकानीमा उत्तर कोरियाका लागि सिआइएका पूर्व उपप्रमुख ब्रुस क्लिङ्गरले यसअघि पनि कयौं पटक किम र उनको पिताको स्वास्थ्यलाई लिएर सार्वजनिक भएका खबरहरू हल्ला प्रमाणित भएकाले सत्यतथ्यका लागि पर्खनुपर्ने बताएका छन् । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्