‘कतिपय डरलाग्दा हिंसाहरु घरभित्रै लकडाउनमा लक भएर बसेका छ्न्’



०७ वैशाख २०७७, काठमाडौं

बेलायती अखबार ‘दि गार्डियन’ले केही दिन अगाडि लेख्यो, ‘लकडाउनले विश्वव्यापी रूपमै घरेलु हिंसा बढाउन सक्छ’ उक्त लेखमा लकडाउनबाट धेरै कुरा छुटे पनि घरेलु हिंसामा बाँचिरहेका महिला तथा केटाकेटीले दुर्व्यवहार गर्नेहरूबाट कुनै छुटकारा नपाउने कुरा बकैदा उल्लेख गरिएको छ ।

ब्राजिलदेखि जर्मनी, इटालीदेखि चीनसम्मका हिंसाविरूद्धका अभियन्ता र पीडितले लकडाउन तथा क्वारेन्टाइन अवधिमा दुर्व्यवहार बढेको बताउँदै आएका छन् ।

‘दि गार्डियन’का अनुसार चीनको हुवेईमा फ्रेबुअरीमा मात्र घरेलु हिंसा साधारण समयमाभन्दा तीन गुणा बढी देखिएको थियो । यस्तै ब्राजिलमा पनि घरेलु हिंसा ४० देखि ५० प्रतिशत बढेको अनुमान त्यहाँका न्यायाधीशको छ ।

यस्तै अनुमान लगाएर २४ सै घन्टा हेल्पलाइन सेवा शुरु गरिएको इटालीमा पनि थुप्रै यस्ता हिंसासम्बन्धीका गुनासोहरु अभिलेखिकरण भएको त्यहाँस्थित सञ्चारमाध्यम तथा अधिकारीहरु बताउँछन् ।

यहाँ उल्लेखित घटनाहरु प्रतिनिधि घटनाहरु मात्र हुन् । यस्ता लिटेरेसी रेट धेरै भएको, सक्षम अनि विकसित देशमा त यत्तिका यस्ता विभिन्न खाले हिंसाका घटनाहरु घट्ने गर्छन् भने कम विकसित, कम लिटेरेसी रेट भएको नेपाली समाजले कसरी कटाइरहेको छ, लकडाउन ?

नेपालमा लकडाउन घोषणा भएको १५ औं दिन बितिरहँदा विभिन्न खाले हिंसाका १०४ घटनाहरु अभिलेखिकरण भएको सरकारी तथ्यांकहरुले देखाउँछन् ।

यही समय यस्ता खाले हिंसाका घटनाहरुले किन प्रशय पाउँछन् ? यसको कारण के हो ? यसको विभिन्न पक्षहरु के के हुन् ? यी यावत् विषयमा मैले मानव/महिला अधिकारकर्मी डा. रेणुका सोलुसँग भलाकुसारी गरेको छु ।

प्रस्तुत छ, यो भलाकुसारी–
प्रश्न : तपाईँ एउटा मानव/महिला अधिकारकर्मी पनि हुनुहुन्छ, यो बन्दाबन्दी (लकडाउन्) को समयमा घरैमा बसिरहेका सबै महिलाहरुलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

उत्तर : अहिले (कोभिड १९) कोरोना भाइरस महामारीका कारण देश लकडाउनमा छ । भएजति मान्छे घरभित्र जम्मा भएका छन् । तिनीहरूलाई खानपान र सरसफाईजस्ता कुरा हाम्रो जस्तो पितृसत्तात्मक सोच भएको समाजमा सदियौंदेखि महिलाकै दाइजो या अंशमा परेको भान भैरहेको हुँदा महिलाको कार्यबोझ झन थपिएको छ । थोरै सामानले धेरैलाई र्पुयाउनु पर्ने मानसिक तनाव पनि छ । बालकदेखि वृद्धवृद्धासम्मले बोलेका ‘भोक लाग्यो’ भन्ने आवाज ठोक्किने पहिलो कान महिलाकै हुन्छ ।

कतिपय सामाजिक अभियन्ता वा बौद्धिक महिलालाई त झन समसामयिक विषयवस्तुमा लेखेर बोलेर आफ्ना सामाजिक भूमिका निर्वाह गर्नु पनि परेको छ । त्यसैले यी सबै व्यवस्थापन गर्दै गर्दा यस्तो लाग्छ कि आम नेपाली महिलाहरू घरबाहिर लकडाउन भनिए पनि घरभित्र लकअपमा नै व्यस्त छन् ।

प्रश्न : सरकारले कोभिड १९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै गत वर्षको ११ चैत्रदेखि देशभर बन्दाबन्दी (लकडाउन्) को घोषणा गरेको छ । योबीचमा कतिपय लैंगिक हिंसाका प्रशस्ती समाचारहरु आए । यसलाई तपाईँ एउटा मानव/महिला अधिकारकर्मी भएको नाताले कसरी लिनुहुन्छ ।

उत्तर : लैंगिक हिंसा भनेको एक व्यक्ति वा समूहले अर्को व्यक्ति वा समूहलाई गरिने विविध प्रकारका हिंसा हो । यसअन्तर्गत सामाजिक हिंसा, शारीरिक हिंसा, मानसिक हिंसा, आर्थिक हिंसा, राजनीतिक हिंसा आदि पर्दछ्न् । जसमध्ये पनि शारीरिक र मानसिक हिंसाको तथ्यांक झनै भयावह छ । शारीरिक हिंसा त सबैले देख्छन्, समवेदना मिल्छ, उपचार हुन्छ तर सबैभन्दा खतरनाक हिंसा मानसिक हिंसा हो ।

बाहिर देखिँदैन जो भित्रभित्रै पाकेर पिप बन्छ क्यान्सरकै रुप लिएर मन्द विष झैं फैलिँदै जान्छ र ज्यानै लिने डर हुन्छ । यो लकडाउनको समयमा पीडक र पीडितसँगै घरभित्र थुनिएका छन् । मन नमिलेका मान्छेसँग बस्दा झिल्को नि ज्वाला दन्किन्छ । जो कोही नि चौबिसै घन्टा सँगै बस्दा आत्मीयता घट्छ । सँगै सुत्दा खुट्टा लाग्छ भनेजस्तै हो यो । अहिले काम पनि छैन, पैसा नि छैन । आर्थिक संकट थपिँदैछ । दिनभरी कमाएर बिहान बेलुकाको छाक टार्नेलाई अत्यन्तै सकस छ । यस्तो बेलामा राज्य अभिभावकको रुपमा देखिन नसक्नु झन दुःखद पक्ष छ । जब आर्थिक अभाव हुन थाल्छ मान्छे झर्किन थाल्छ र त्यसले विस्तारै हिंसाका रुप लिन्छ । त्यसैले अभावले दरिद्रता मात्रै होइन हिंसा पनि निम्त्याउँछ भनिएको हो ।

अहिलेको समय अत्यन्तै मानवीय संवेदना हराउँदै गएको समय भोग्दैछौं हामी । कतिपयको रिलेसनसीप राम्रो छैन, कोही सम्बन्ध बिच्छेदका जायरी दर्ता गरेर बसेका छन् भने कोही दर्ता गराउने प्रक्रियामा छन् । यस्ता मनहरू सँगै बस्नुपर्दा मनमुटावले चरम रुप लिन्छ र हिंसा भइरहेको छ । हिंसा भन्ने कुरा यसै पनि बलियाले कमजोरीलाई गर्छ । त्यो कमजोरले बलियाको विरुद्दमा उजुरी गर्ने साहस नै राख्दैन । उजुरी गरिहाले पनि सत्ता र शक्ति सबै बलियाकै पक्षमा उभिने तितो यथार्थले पनि पीडितको मनोबल गिर्छ अनि विद्रोह गर्ने हिम्मत बिलाउँछ । त्यसैले कहीँ कतै भएका थोरै मात्रै हिंसा सार्वजनिक भएका छन् । कतिपय डरलाग्दा हिंसाहरु त घरभित्रै लकडाउनमा लक भएर बसेका छ्न् । त्यो तथ्य बाहिर आएकै छैन ।

प्रश्न : जस्तोकि, यही लकडाउनको १५ औं दिन बित्दै गर्दा विभिन्न खाले हिंसा (विशेषगरीः महिला)का १०४ घटनाहरु अभिलेखिकरण भएको तथ्यांक छ, किन यही समयमा यस्तो घटनाहरुले झनै प्रशय पाउँछन् ?

उत्तर : यो लकडाउनको समयमा पनि कतिपय सज्जन पुरुष जो महिलाको अस्तित्व स्वीकार्छन् ती घरभित्रको काममा सघाएर पारिवारिक आत्मीयता बढाइरहेका छ्न । सँधै मेसिन जस्तै चल्नुपर्ने बाध्यताले केही गर्न नभ्याएकाहरू अहिले फुर्सदको समयलाई आफ्नो सीप प्रयोग गरेर मिठामिठा परिकार बनाउने खान दिने गर्दै यो समयलाई उत्सवको रुपमा सदुपयोग गरिरहेका छन् भने कतिपय पुरुषहरू सामाजिक सञ्जालमा टिकटकको नाममा होस या जोक्सको नाममा होस महिलाको चरित्र हत्या गरेर रमाइरहेका छन् ।

सार्वजनिक स्पेसमा नै त्यसरी नाङ्गै नाच्न रमाउनेले घरभित्र थुनिएका महिलासँग कस्तो व्यवहार गर्छन्, यसै पनि अनुमान लाउन सकिन्छ । यसरी चरित्र हत्या गर्नु भनेको आम महिलालाई मानसिक हिंसा गर्नु हो । हिंसा गर्न अभद्र व्यवहार नै गर्नुपर्छ भन्ने छैन । आफू चाहिँ फुर्सदले ताइँनतुईँंका कुरामा अल्मलिएर बस्ने महिला चाहिँ त्यही भान्साको जुठोमै जोतिइरहनु पर्ने हुँदा पनि मानसिक हिंसाबोध हुन्छ । फुर्सदमा नि नसघाउने कसरी जीवनसाथी हुन्छ त्यो त मालिक हुन खोज्छ मलाई नोकर कजाउँछ भन्ने मानसिकता भयो भने सम्बन्धमा तिक्तता आउँछ । यस्तो हिंसा बाहिर ल्यायो भने मान्छेले त्यसै उडाउने हुनाले भित्रै पाक्छ भित्रै दुख्छ ।

फुर्सद भयो भनेर युट्यूबमा अनेकौं उछृङ्खल सामाग्री हेर्ने अनि अवचेतन मनबाट उठेका इमोसनल उत्तेजना आक्रामक रुपमा पोख्ने साधन महिलालाई नै बनाउँछन् । आवेगमा बुद्दी र विवेक शक्तिविहिन हुन्छ सायद अनि त घरभित्रको कामले लखतरान भएकी एक महिलाको मन छाम्नु भन्दा अगावै मासु छाम्न व्वाँसो जस्तै झम्टिन्छ्न् ।

श्रीमतीलाई त बिबाह नामको लालपुर्जा लिएर निजी सम्पतिका रुपमा सदियौंदेखि कजाउँदै आएको संस्कार ज्यूँदै छ त्यसैले मनोपोली झम्टिनु हक नै सम्झन्छ्न् । यस्तो बेला आफ्नै नातागोता घरपरिवारकै सदस्यबाट समेत महिला हिंसा भइरहेको छ । यसमा केही हदसम्म चाहिँ महिलाको नि दोष देखिन्छ ।

हामी कहाँनिर चुक्यौं भन्ने सोच्न जरुरी छ । उत्तेजित ड्रेसअप र गेट्अप अनि हाउभाउले हिंसालाई प्रश्रय मिल्छ । आफनै बुबाबाट त बच्न नसकिने हाम्रो समाजमा वरिपरिकाबाट बच्न धेरै सतर्कता अपनाउनु पर्दछ । मन मिलुन्जेल ‘वी टु’ मन नमिलेपछि ‘मी टु’’ को विधि अपनाउनु निच कर्म हो । यसले आम मानवीय भावनामा चोट र्पुयाउँछ । केही यस्ता दुष्ट प्रवृत्तिका कारण आम सज्जन महिला समुदायमाथिनै प्रश्नचिन्ह खडा हुन सक्छ । यस्ता संवेदनशील कुरामा सचेत हुन जरुरी छ । अनि पहिला पहिला जे गरे नि महिला सहेर बस्थे, अब महिलामा पनि अस्तित्वबोधको चेत खुल्न थालेको छ, क्रान्तिचेत सल्बलाउन थालेको छ अनि निर्भिक बोल्न लेख्न थालेका छ्न् त्यसैले महिला हिंसाको तथ्यांक बढी देखिन थालेको पनि हुनसक्छ ।

प्रश्न : विशेषगरीः विभिन्न खाले हिंसामा परेका करिब ५० प्रतिशत महिलाहरुले बयान फेर्ने गरेको कानून व्यवसायीहरुले बताउँदै आएका छन् । बयान फेर्नु के समाधान हो ? तपाईँले यसलाई कसरी नियाल्नुहुन्छ ?

उत्तर : बयान फेर्नु भनेको नियत होइन नियती हो । समाधानको उपाय यो हुँदै होइन । हाम्रो समाजमा अहिलेसम्म पनि महिलालाई दोस्रो दर्जाकै रूपमा हेर्ने गरिन्छ । यसकारण यो समुदाय कमजोर वर्गमा नै परिरहेको छ । सत्ता र शक्तिका अगाडि शक्तिविहिनले बयान फेर्नु नै विकल्प सोच्छन् ।

आर्थिक, सामाजिक, मानसिक सुरक्षाको प्रत्याभूति नभएर पनि बयान फेर्न बाध्य हुन्छन् । यस्तो परिस्थितिसँग सामना गरिरहेका महिलालाई घर परिवार समाजदेखि राज्यसम्मले नै हेर्ने दृष्टिकोण फरक हुनाले सडकमै पुग्ने सम्भावना हुन्छ । त्यसकारण पनि बयान फेर्छन् । कतिपयलाई त यति धेरै दबाब हुन्छ कि ज्यान मार्ने समेत धम्की आउँछ । त्यसैले मर्नु भन्दा बौलाउनु ठिक सोचेर बयान फेर्छन् । आफ्नै जीवनको आश, बालबच्चाको माया उम्लिएर आएपछि मातृहृदयले हिंसा सहेर भए पनि बयान फेर्न सक्छन् ।

केही प्रतिशत चाहिँ पद, पैसा र पावरका लोभमा पनि बयान फेर्न सक्छन् । यी सबैभन्दा डरलाग्दा र घिनलाग्दा गद्दार हुन् । आफ्नो पसिनामा आत्मसम्मानका साथ अस्तित्वबोध गर्दै बाँचेका स्वाभिमानी जो कसैले कुनै पनि प्रकारका हिंसा सहन सक्दैनन् र बयान फेर्ने त कुरै हुँदैन ।

प्रश्न : बन्दाबन्दीमा यस्ता हिंसात्मक घटनाहरुलाई कसरी न्यूनीकरण कसरी गर्न सकिन्छ, यसमा पुरुषको भूमिका कस्तो हुनुपर्छ ?

उत्तर ; बन्दाबन्दीमा होस् या अरुबेला होस् कुनै पनि हिंसा हुनु राम्रो पक्ष कदापि होइन । यसलाई न्यूनीकरण गर्न सर्वप्रथम त महिला आफैँ सचेत हुन जरुरी छ । आर्थिक, राजनीतिक, शैक्षिक, सामाजिक, मानसिक जस्ता सबै पक्षमा आफू बलियो हुन जरुरी छ । परनिर्भर नभई आत्मनिर्भर हुनुपर्दछ । यसो भएपछि पहिलो कुरा त हिंश्रक आफैँ डराउँछ, हिँसा भैहाल्यो भने पनि विरुद्दमा निर्भिक उभिन साहसको मूल फुट्छ ।

सगरमाथा जस्तै उचाइमा अटल उभिन्छ आत्मसम्मान । हाम्रो समाजमा सज्जन पुरुषहरू पनि थुप्रै संख्यामा छन् । दुर्भाग्यवश हिंश्रकको संख्या अलि बढी छ । सीतारूपी महिलाहरू रामरूपी पुरुषका अग्निपरीक्षामा आफू मात्रै परीक्षार्थी भइरहन्छन् । तर रामलाई परीक्षामा सामेल गराउन हिम्मत गर्दैनन् अनि सबैको कुरा बाहिर आउँदैन, र मात्रै हो । महिला हिंसाको विरुद्दमा धेरै सज्जन पुरुषहरू समेत बोलिरहेका छन् जो मानव हृदयले ओतप्रोत छन् । तर अझै पुगेको छैन । हिंश्रक पुरुषले गरेका हिंसाको आम सज्जन पुरुष समुदायलाई नै दाग लाग्ने डर हुँदा पीडकको विरुद्दमा पीडितको पक्षमा न्यायका लागि अझै धेरै बोल्न लेख्न जरुरी छ ।

पुरुष र महिलाको सम्बन्ध बिना मानव सृष्टि नै ठप्प हुने अथवा मानव सिर्जना नै सम्भव नहुने हुनाले एकले अर्काको अस्तित्व ससम्मान स्वीकार गर्न सक्नुपर्दछ । अहिलेसम्म पनि महिलाले बोल्दा गन्थन र पुरुषले बोल्दा मुद्दा हुने हाम्रो सामाजिक संरचना र वातावरण छँदैछ । त्यसैगरी हरेक तह र तप्काको नीति निर्माण र कार्यान्वयन तहमा पुरुषको पहुँच रहेको हुनाले पनि सज्जन पुरुषहरूले हिंसाको विरुद्दमा बोल्न कन्जुस्याँइ गर्न हुन्न ।

महिलाले बोल्दा कच्कच् सोच्ने पुरुषले बोल्दा कानुन बन्ने समाज अझै छ । त्यसैले हिँसा न्यूनीकरणका लागि महिला पुरुषका साथै तेस्रो लिङ्गीसमेत चुप लागेर बस्न हुँदैन । महिलालाई पनि मान्छेको परिभाषाभित्र समेटेर राज्यको विकासको मूलधारमा समान सहभागिता गराउँदै सँगै हिँडाउन सहज वातावरण दिलाउँंदै हातमा हात, काँधमा काँध र साथमा साथ दिन प्रत्येक पुरुष सकारात्मक रुपमा तयार हुनुपर्दछ । एउटी महिला सक्षम हुनु भनेको घर, परिवार, समाज हुँदै राष्ट्र नै सक्षम हुनु हो भन्ने सत्य कुरा सबै सरोकार पक्षले बुझ्न र स्वीकार गर्न अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस्