
०६ बैशाख २०७७, काठमाडौं /राकेश कुमार शर्मा
मुलुक सरकार विहीन भएको छ । जनताहरुको गुनासो सुन्न नेपालमा सरकार नै छैन ? सरकार भएपनि सरकारको कान छैन कसरी सुन्नु ? यसकारण भन्न बेकार छ । अब मुलुकमा तेस्रो शक्ति छ भने तत्काल उदयको आवश्यकता छ ।
नेपाल सरकारले के नै गरेको छ ? राहतकोषमा जम्मा भएको रकम विभिन्न दातृ संघ संस्थाहरु, बैंक र बाहिरी मुलुकहरू बाट प्राप्त भएको हो ।
बाहिरी मुलुकहरुले आपनो नागरिकहरुको लागी अनेकौं राहतका प्याकेजहरु ल्याएका छन । हाम्रो मुलुकको कतिपय ठाउँहरुमा दिनदिनै ज्यालादारी गरी छाक टार्ने मजदुरहरुले राहत पाउनका लागी चाकरी गर्नुपर्ने अवस्था आएको छ ।
बाहिरी मुलुकहरूले आफ्नो नागरिकहरुलाई उडान मार्फत लगेको अवस्था छ । हाम्रो मुलुकमा शायद सरकार नभएकोले होला बाहिरी मुलुकमा रहेका नेपाली नागरिकहरु र मुलुकभित्र रहेका बिचल्लीमा परेका नागरिकहरुको उद्धार गर्न सकिरहेका छैनन् । नेपाली नागरिकहरुको अवस्था बिजोग छ ।
बाघको छालामा स्यालको रजाइँ जस्तो हतार–हतार कोरोना भाइरसको महामारीमा सुकुम्बासी आयोगको अध्यक्ष र सदस्य पदहरुको गठन गर्नुपर्ने आवश्यक थियो र ?
र्यापिड किटको जाँच भरपर्दो छैन भने पीसीआरको माध्यमबाट स्वाब टेस्ट गरे हुन्न ? दोहोरो टेस्ट गर्नुपर्ने किन ?
क्वारेन्टाइन व्यवस्थित छैन भन्ने कुराहरु सुन्नमा आईरहेको छ । क्वारेन्टाइनमा पाउनुपर्ने सेवा सुविधाहरू व्यवस्थित नभएकोले पनि क्वारेन्टाइनमा बस्दा झन् कोरोना भाइरस सर्ने हो की भन्ने डरले मानिसहरू क्वारेन्टाइनमा बस्न नमानेका हुन जस्तो मलाई लाग्छ ।
हाम्रो मुलुकमा विगतमा पनि संघीयताको आवश्यकता थिएन र वर्तमान अवस्थामा पनि संघीयताको आवश्यकता छैन । आफ्नो कार्यकर्ताहरु पाल्नको लागी मात्र संघीयता हो । उपमहानगरपालिका र नगरपालिकाले उठाएको करहरु मध्ये केही प्रतिशत रकम प्रदेश सरकारलाई तिर्नुपर्ने हुन्छ । उपमहानगरपालिका र नगरपालिकाको खर्चले प्रदेश सरकार चलेकोले प्रदेश सरकारहरुको आवश्यकता बिल्कुल देखिदैन । कोरोना भाइरसको महामारी पश्चात हाम्रो मुलुकले आर्थिक अवस्था थेग्न सक्दैन यसकारण हाम्रो मुलुकमा संघीयताको आवश्यकता पनि छैन । अब हाम्रो मुलुकमा मुलुकको हित र जनहितका लागी तत्काल तेस्रो शक्तिको आवश्यकता रहेको छ ।





