कोरोना रोकथामका लागि प्रदेशमा समन्वय गर्ने मन्त्रीसँग छलफल



०५ बैशाख २०७७, काठमाडौं

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुसँग छलफल गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रदेशमा र्यापिड डायग्नोस्टिक टेष्ट, बिरामीको अवस्था र सङ्क्रमण भएका व्यक्तिको स्थितिलगायतका विषयमा मन्त्रीहरुसँग छलफल गरिएको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिंडारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार छलफलमा मन्त्रीहरुले परीक्षणको दायरा बढाउनुपर्ने आवश्यकता रहेको विषयमा ब्रिफिङ गर्नुभएको थियो । प्रदेश नं १ देखि सुदूरपश्चिम प्रदेशसम्म सातवटै प्रदेशको स्थितिका बारेमा समीक्षा गर्दै लकडाउनको स्थिति र संक्रमणमा परेका व्यक्तिको उद्धारका विषयमा समेत मन्त्रीहरुले ब्रिफिङ गर्नुभएको उहाँले बताउनुभयो ।

सचिव बिंडारीले बैठकमा सरकारी र निजी क्षेत्र तथा सरकारी छात्रवृति प्राप्त भएर अध्ययन गरेर फर्किएका विद्यार्थी, स्वास्थ्यकर्मीलाई पनि परिचालन गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । बैठकमा सामग्रीको आपूर्तिलाई नियमित गर्ने, अझ बढाउने र परीक्षण तथा उपचार दुईवटै पाटोलाई सँगसँगै अगाडि लैजाने विषयमा समेत छलफल भएको थियो । लकडाउनको अवस्थामा घरमै बसेर सङ्क्रमणलाई शून्यमा ल्याउने विषयमा गर्नुपर्ने क्रियाकलापमा तीव्रता दिने विषयमा समेत छलफल भएको सचिव बिंडारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्