लकडाउनमा विपन्न र मजदुरका भरोसा बन्दै नेकपा केन्द्रिय सदस्य राजन दाहाल



०५ बैशाख २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य, सिन्धुली जिल्ला अध्यक्ष र बागमती प्रदेश सांसदको जिम्मेवारीमा रहेका राजन दाहालको दैनिकी लकडाउनपछि फेरिएको छ । उनको अभियानमा जीवन संगिनी तथा सुनकोशी गाउँपालिका प्रमुख दिपा बोहोरा र स्थानीय स्वास्थ्यकर्मीले पूर्ण रुपमा साथ दिएका छन् ।

दाहाल जस्तै जिम्मेवारीमा रहेका नेताहरुले आपत् र अप्ठ्यारोमा परेका नेपाली नागरिकहरुलाई पनि आ–आफ्नो हिसाबले सहयोग गरेकै होलान् तर जनयुद्धमा जीवनको पर्वाह नगरी लडेका यी केन्द्रिय नेता अहिलेपनि विपन्न र श्रमिकको सारथी बनेर उभिईरहेका छन् । नेपाल सरकारले लकडाउन गर्नुभन्दा पहिला गाउँ फर्किन ३ दिनको समय त दिएको थियो । तर त्यो समयमा जानसक्ने अवस्था र हैसियतमा देशको विभिन्न भू–भागबाट काठमाडौं आएर श्रमगरी दैनिकी चलाउनेहरु थिएनन् ।

त्यो बेलासम्म ज्याला मजदुरी गर्ने आम श्रमिकहरुले लकडाउनको यो अवस्था होला भनेर कल्पना समेत गरेनन् र स्थानीय पालिकाहरुले काठमाडौंमा बसोबास गर्ने आफ्ना नागरिकको तथ्याङ्क समेत राखेका थिएनन् । त्यसैले लकडाउनको केहि दिनदेखि मजदुरहरुले यहाँको समस्या बुझें, खान नपाएर काठमाडौंमा बस्नुभन्दा आफ्ना लालाबाला बोकेर पैदल नै भएपनि गाउँ फर्किनुपर्छ ।

गाडीमा चढेर काठमाडौंको यात्रा गर्नेहरु केहि दिनदेखि हप्तौँ लगाएर गाउँ जान थाले । नेकपाको सिन्धुली जिल्ला अध्यक्षको साथै पार्टीको केन्द्रिय नेतृत्वमा प्रभाव राख्ने दाहाललाई आफ्नै आँखा अगाडि विपन्न  र श्रमिकहरु पैदल नै हिडेर आफ्नो गाउँ फर्किएको अरु नेताका झैँ टुलुटुलु हेरेर बस्न आफ्नो वर्गीय आचरणले दिएन त्यसैले उनले सुनकोशी गाउँपालिका प्रमुख दीपा बोहोरा र स्थानीय स्वास्थ्यकर्मीको परिचालन गरेर शहरबाट आफ्नो गाउँ फर्किन चाहनेहरुको लागि उद्धारको अभियान शुरु गरे । चैत्र १६ गतेदेखि शुरु गरिएको अभियानमा आज दिउँसोसम्म ६,७८४ जनालाई गन्तव्यमा पुर्‍याईएको गाउँपालिकाको रेकर्डमा उल्लेख गरिएको छ ।

यसबारेमा हामीले बुझ्न खोज्दा नेता दाहालले भन्नुभयो,“नेकपाको एउटा जिम्मेवार कार्यकर्ताको दृष्टिले हेर्दा काठमाडांैमा श्रम गरी बाँच्नेहरुले आफ्नै गाउँ फर्किएर जीवन निर्वाह गर्न पाउनुपर्छ भन्ने लाग्यो । त्यसैले हामीले चैत्र १६ गतेदेखि पालिका प्रवेश गर्नेहरुलाई नाकामा सामान्य चेकजाँच गरेपछि १ लिटर पानी र सामान्य ड्राई फुड ख्वाएर उपलब्ध भएका सवारी साधनमा राखी निःशुल्क गन्तव्यमा पुर्‍याउने काम गरेका छौँ । खाजा र ईन्धनको व्यवस्था गाउँपालिकाले गरेको छ । मैले मेरो व्यक्तिगत सम्पर्क र नेटवर्क प्रयोग गरेर पैदलै हिडेर आउने श्रमिकहरुलाई ओखलढुङ्गा, खोटाङ, उदयपुर, सुनसरी, सिराहा, महोत्तरी, धनुषा लगायतका जिल्लाहरुमा पुर्‍याएको छु । सबै कामको संयोजन आफैंले गरेको हुनाले सम्बन्धित जिल्लामा छोड्दा त्यहाँको प्रशासन र जनप्रतिनिधिलाई जिम्मा लगाएका छौँ ।”

कुराकानीका क्रममा दाहालले गुनासो गर्नुभयो,“हामी आफ्नो जीवनको जोखिम मोलेर पैदल हिड्दै आफ्नो गाउँ फर्किएका श्रमिकहरुको जीवन रक्षा गर्दै उद्धार गरिरहेका छौँ । यसो गर्दापनि कतिपय साथीहरु राजन दाहालले लकडाउनको उल्लंघन गर्‍यो भनेर आरोप लगाउनु हुन्छ । एउटा कम्युनिष्ट पार्टीको कार्यकर्ताको हिसाबले मैले विपन्न र श्रमजीवी जनताको पक्षमा काम गर्दा पनि कानुनको उल्लंघन हुन्छ भने मलाई कानुनको वास्ता छैन ।”

केन्द्रिय नेताको हैसियतमा दाहालले यो विषयमा गृहमन्त्री र पार्टी अध्यक्षलाई समेत बारम्बार रिपोर्टिङ्ग गर्नुभएको रहेछ । कम्तिमा गाउँ फर्किन चाहनेहरुलाई फर्किने व्यवस्था मिलाउनु पर्‍यो । जति अनुरोध गर्दा पनि केहि सीप नलागेपछि तुरुन्त मजदुरहरु गाउँ फर्किने व्यवस्था मिलाउन गृहमन्त्रीलाई धम्कीको भाषा प्रयोग गरेर गाउँ फर्किने व्यवस्था मिलाउनु पर्‍यो अन्यथा आफ्नै पहलमा १०० गाडि काठमाडौं ल्याएर जिल्लावासी र अरु जिल्लाका मजदुरहरुको उद्धार गर्न बाध्य हुने धम्की दिँदा समेत बेवास्ता गरेपछि आफूले फेसबुकमा स्टाटस लेखेको बताउनु भयो ।

जिम्मेवारीमा पुगेपछि आफ्नै नेताहरुको पनि बर्गीय चेतनामा परिवर्तन आएको आक्रोशमा दाहालले लेख्नुभएको छ,“साँच्चै निदाएकाहरुलाई जगाउन सकिने भो तर निदाएको बहाना गर्नेहरुलाई जति झक्झक्याए पनि जगाउन नसकिने भो ! के गर्ने खोइ ?” दाहालका अनुसार यो स्टाटस पार्टी नेतृत्व र गृहमन्त्री प्रति लक्षित गरिएको हो ।

आफूलाई मजदुरको राष्ट्रिय नेताको रुपमा स्वीकार्ने पूर्व नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का पूर्व केन्द्रिय अध्यक्ष सम्माननीय प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हुँदा समेत मजदुर प्रति गरेको बेवास्ता अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ । देशको मुख्य बागडोर सम्हालेका नेता रिमालले गरेको बेवास्तालाई अर्का केन्द्रिय नेताले व्यक्तिगत जीवनको वास्तै नगरी पुर्‍याएको सहयोगले पार्टीभित्र अझै पनि केहि वर्गीय नेताहरु छन् भन्ने सन्देश प्रवाह गरेको छ ।

दाहाल दम्पतीले विपन्न र श्रमजीवी वर्गप्रति पुर्‍याएको योगदान र मानवीय सहयोग राष्ट्रिय संचारमाध्यममा स्थान ओगट्न नसक्ला तर पैदलै हिडेर गाउँ फर्किएका त्यी श्रमजीवी जनताले दिने धन्यवाद र आशिर्वाद उनको बाँकी जीवनको लागि सकारात्मक उर्जा हुनेछ । कम्युनिष्ट पार्टीका नेताहरुमा बर्गीय चरित्र हराउँदै जाँदा जनताको दुःखमा साथ दिने दाहाल दम्पति मात्र होईन् । वर्तमान संकटमा जनताको सेवामा समर्पित जनार्दन शर्मा (प्रभाकर) जस्ता नेताहरु पनि आस्थाका पुञ्जको रुपमा कार्यकर्ता र जनताको मन मस्तिष्कमा रहनेछन् ।

सरकारले आफ्ना नागरिकले पाएको दुःखलाई समयमै सम्बोधन गर्न सकोस् । संघीय सरकारले आँखामा पट्टि बाँधेपनि स्थानीय सरकारहरु र पार्टीका नेताहरु जनताको दुःखका सारथी बनुन् । दैनिक ज्यालादारी, श्रमिक, श्रमजीवी जनताको नेताका रुपमा नेकपाका जनप्रतिनिधिहरु सक्रिय भईरहुन् । सरकार साँच्चै जनताको अभिभावक बन्न सकोस् । स्थानीय र प्रादेशिक सरकारका जनप्रतिनिधिहरु जनताको दैनिक जीवनसँग जोडिन सकुन् । तपाई हामी सबैको सामूहिक प्रयाशले कोरोनाको संकटबाट मुलुकलाई मुक्त गर्न सकियोस् ।

पार्टीका केन्द्रिय नेता राजन दाहाल र सुनकोशी गाउँपालिका प्रमुख दीपा बोहोरालाई जनता प्रति जिम्मेवार बन्ने भावना अझैँ बढीरहोस् । अन्तर हृदयदेखि सलाम ! तपाईहरुका जनसेवी भावना अझैं बढी रहुन् ।

यो पनि पढ्नुहोस् : 

कोठाबाट आलोचना गर्नुभन्दा नेता जनार्दन शर्माबाट सिकौं

प्रतिक्रिया दिनुहोस्