सीमा नाका थप कडाइ गर्न राजपाको माग



०३ वैशाख २०७७, काठमाडौं

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नेपाल–भारतको सीमामा थप कडाइ गर्न माग गरेको छ ।

राजपा नेपालले बुधवार विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढिरहेको कारणले खुला सिमानामा अझ निगरानी बढाउनु पर्ने सरकारसँग माग गरेको हो ।

सीमामा निगरानी बढाउनका लागि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरि आवतजावतलाई कडाइका साथ रोक्नु पर्ने सुझाव पनि राजपाले दिएको छ ।

राजपा नेपालले काठमाडौंमा फसेका उपत्यका बाहिरका मानिसको बारेमा समाधान निकाल्न पनि आग्रह गरेको छ । लकडाउनको अवस्थामा पनि दिनहुँ काठमाडौबाट पैदल यात्रा गरि हजारौंको सँख्यामा सर्वसाधारण आआफ्नो गन्तव्यमा जाने गरेका छन् ।

त्यसले गर्दा विभिन्न ठाउँमा झडप हुनुको साथै स्थानीयमा त्रास पनि उत्पन्न भएको राजपा नेपालले विज्ञप्तिमा उल्लेख गर्दै त्यसको समाधानका लागि माग गरेको छ ।

उपत्यका लगायत देशको विभिन्न भूभागमा फंसेका नागरिकलाई खान बस्न गाह्रा भएको दावी गर्दै राजपा नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले ती व्यक्तिरुलाई सम्बन्धित वडाहरुबाट तत्काल राहतको व्यवस्था मिलाउन माग गरेका छन् ।

स्वास्थ्यकर्मीहरुले अझै स्वास्थ्य सामाग्रीहरु नपाएको भन्दै सो पार्टीले गुनासो गर्दै देशको विभिन्न भूभागामा अहिले संक्रमित संख्या बढ्न थालेको र यस अवस्थामा पनि स्वास्थ्यकर्मीहरुले अझै पनि स्वास्थ्य सामग्रीहरु पाउन नसक्नु दुखद रहेको कारण सरकारले तत्काल आवश्यक सामग्रीहरु उपलब्ध गराउनु सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्