बिहार र उत्तर प्रदेशका क्वारेन्टाइनबाट भाग्न थाले हजारौं मजदूर



०३ वैशाख २०७७, काठमाडौं

भारतमा बन्दाबन्दी (लकडाउन्) लम्बिएपछि बिहार र उत्तर प्रदेशका क्वारेन्टाइनमा राखिएका हजारौं मजदूर त्यहाँबाट निस्किएर घर जान थालेका छन् ।

भीडभाडमा बसेकाले उनीहरुलाई संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । विभिन्न विद्यालय र गाउँ परिषद्का सयौं भवनलाई त्यहाँ क्वारेन्टाइन स्थलको रुपमा परिणत गरिएको छ ।

बन्दाबन्दीपछि काम गुमाएका र घर फर्कन नपाएकालाई राज्य सरकारले ती ठाउँमा राखेको थियो । त्यसरी राखिएकाहरुलाई आधार सुविधा पनि थिएन । खानेकुरा, पानी, सुत्ने ठाउँको अभाव थियो ।

कतिपय राति सुत्न अन्यत्रै जाने र दिउसो निःशूल्क पाइने खानाका लागि क्वारेन्टाइनमा आउने गरिरहेका थिए । भारतमा २४ मार्चमा बन्दाबन्दी शुरु भएपछि नै हजारौं मजदूरले रोजगारी गुमाइसकेका छन् ।

त्यसपछि हजारौं किलोमिटर पैदलै घर फर्किनेहरुको ताँती सडकहरुमा देखिएका थिए । उत्तर प्रदेश र बिहार सरकारले त्यसरी आइपुगेकालाई सीमामा रोकेर क्वारेन्टाइनमा पठाएका थिए ।

तर, प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार थप १९ दिन बन्दाबन्दी लम्ब्याएपछि ती मजदूर गाउँ जान निस्किएका हुन् । बेखर्ची बन्दै गएका मजदूर बन्दाबन्दी लम्बिएको खबर आउन साथ बाहिर निस्कन थालेका थिए ।

क्वारेन्टाइनमा पठाइएकाहरुमा उत्तर प्रदेश र बिहारबाट बाहिर जान नपाएका अन्य राज्यका नागरिक पनि छन् । स्थानीय पत्रकारलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार क्वारेन्टाइनमा राखिएकाहरु घुमेर हिँड्दा जोखिम बढेको छ ।

उत्तर प्रदेश र बिहार भारतमा धेरै जनसंख्या भएका ठूला राज्य हुन् । क्वारेन्टाइनमा राखिएका हजारौं गाउँरित लागेपछि संक्रमणको जोखिम देशभर बढेको जनाइएको छ । एजेन्सीको सहयोगमा–

|तस्वीरमा क्वारेन्टाइनबाट निस्किएका भारतीय। श्रोतः बीबीसी|

प्रतिक्रिया दिनुहोस्