ट्रम्पले आफ्नो धम्की पुरा गरे, महामारीको समयमा रोके विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम



०३ बैशाख २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम बन्द गर्न आफूले प्रशासनलाई निर्देशन दिएकको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संक्रमण रोक्नका लागि आधारभूत काम गर्न पनि असफल भएको आरोप लगाउँदै आएका उनले भने, ‘जब चीनबाट कोरोनाभाइरसको संक्रमणको सुरुवात भयो तब संयुक्त राष्ट्रको यो संगठनले यसलाई सम्हाल्न असफल रह्यो र वास्तविक तस्बिर लुकाइरह्यो ।’ यसअघि ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई ‘चीन परस्त’ भएको आरोपसमेत लगाएका थिए ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सबैभन्दा धेरै रकम दिँदै आएको छ । गत वर्ष अमेरिकाले संगठनलाई ४० करोड डलर दिएको थियो । ह्वाइट हाउसको रोज गार्डेनमा बोल्दै ट्रम्पले भने, ‘देशमा सबैकुरा सामान्य गर्नका लागि सुक्ष्म तरिकाले काम भइरहेको छ, म सबै ५० गभर्नरसँग चाँडै नै कुरा गर्नेछु । सबै राज्यका सबै गर्भनरलाई योजनाअनुसार काम गर्न जिम्मेवारी दिइनेछ ।’

ट्रम्पले थपे, ‘अमेरिकाले विश्व स्वास्थ्य संगठलाई हरेक वर्ष ४० देखि ५० करोड डलर दिन्छ जबकी चीनले चार करोड मात्रै दिन्छ । संगठनले यदि चीनमा गएर स्थिती हेरेको भए र त्यहाँको स्थितीबारे पारदर्शी ढङ्गले जानकारी दिएको भए अहिले जस्तो भयावह स्थिती छ त्यो कहिले पनि निम्तिने थिएन ।’

ट्रम्पले कोरोनाभाइरस संक्रमण रोक्नका लागि विश्व स्वास्थ्य संगठनको कस्तो भूमिका रह्यो त्यसको समीक्षा पनि गरिने जानकारी दिए ।

संसारभरी कोरोनाभाइरसको महामारी फैलिरहेका बेला ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोकेका छन् । यसअघि ट्रम्पले संयुक्त राष्ट्रलाई दिइने रकममाथि पनि प्रश्न उठाएका थिए र अन्तर्राष्ट्रिय जलवायु सम्झौताबाट पनि अमेरिकालाई अलग्गयाएका थिए । ट्रम्पको निशानामा वर्ल्ड ट्रेड ओर्गनाइजेशनमा पनि छ ।

प्रतिक्रिया दिनुहोस्