सांसद विकास कोषको रकम ‘कोरोना कोष’लाई दिन सुझाव



०२ वैशाख २०७७, काठमाडौं

संघीय संसद र प्रदेश सभाको संसद विकास कोषको रकम कोभिड १९ (कोरोना भाइरस) रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने सहमति भएको छ ।

मंगलबार (आज) सभामुख अग्नी प्रसाद सापकोटाले गरेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक र प्रदेश सभाका सभामुख र उप सभामुखको छलफलमा सांसद विकास कोषको रकम कोरोना उपचार कोषमा पठाउने सुझाव आएको हो ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार उक्त सुझाव कार्यान्वयन गर्न सभामुख सापकोटाले नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिमार्फत् सरकारलाई आग्रह गरेका छन् ।

“सम्माननीय सभामुखज्यूले सातवटै प्रदेशका माननीय सभामुख र माननीय उपसभामुखहरुसँग गर्नुभएको छलफल तथा कार्यव्यवस्था परामर्श समितिका माननीय सदस्यहरुबाट प्राप्त सुझावहरुको कार्यान्वयन गर्न नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिमार्फत् नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय भएको छ ।” पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आज भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधि सभाका विभिन्न दलका प्रमुख सचेतकहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा खर्च नभएको रकम कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउन उपयुक्त हुने सुझाव दिएका थिए ।

|तस्वीरमा सभामुख सापकोटा। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्