सङ्क्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा



०२ बैशाख २०७७, काठमाडौं

कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सङ्क्रमित महिलाका परिवार २१ र ती महिलासँग सम्पर्कमा रहेका लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका ३१ गरी कूल ५२ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

सङ्क्रमित महिला क्वारेन्टाइनबाट घर फर्किएपछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार ५२ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । कोरोना पुष्टि भएकी ती महिलासँगै वीरगञ्जबाट २६ जना कैलाली आएको उहाँको भनाइ छ ।

सङ्क्रमितको सम्पर्कमा रहेका अन्य व्यक्तिको पनि खोजी भर्ईरहेको प्रहरीको भनाइ छ । सङ्क्रमित महिलासँग दाङ, सुर्खेत, अर्घाखाँची, दैलेखका गरी ८ जनाको पनि पहिचान भइसकेको र उनीहरुलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखिने प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । वीरगञ्जबाट कैलाली पुगेका २६ मध्ये २१ जना सङ्क्रमित महिलाको आफन्त रहेको उहाँले जानकारी दिनुभयो । कैलालीमा सङ्क्रमित महिला भेटिएसंगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ५ पुगेको छ । ती सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्